खेम, १७ वर्षका बालक, नेपाल
खेमको जीवनको बारेमा
खेम १० वर्षको हुँदा पश्चिम नेपालबाट काठमाडौँ आएका हुन्। गाउँमा खेमको ठूलो परिवार छ, उनका छ जना दाजुभाइ र दिदीबहिनीहरू छन्। उनको परिवार विपन्न छ र उनको बुवा एक जना छिमेकीको हत्यामा जेल परेपछि अवस्था झनै खराब भयो। परिवारका लागि कमाउने बुवा नहुँदा परिवारका लागि खर्च जुटाउन खेम र उनका दाजुहरूले विद्यालय छाड्नुपर्यो। यसरी १० वर्षको कलिलो उमेरमा नै उनको बालश्रमको यात्रा सुरु हुन्छ।
खेमका दाजुहरूले उनलाई त्यति धेरै सहयोग गर्दैनन्। जब उनले आफू र गाउँमा रहेकी आमाको खर्च टार्ने राम्रो काम पाउन सकेनन् तब उनले राम्रो अवसर खोज्न भनेर काठमाडौँ जाने निधो गरे। उनी काठमाडौँ आइ पुगे लगत्तै एक जना आफन्तको खाजाघरमा भाँडा माझ्ने काम थाले। खेम खाजाघरमा नै बस्ने सहमत पनि भयो।
सफा गर्दै विदेशको फरक जीवनको सपना बुन्दै
खाजाघरको काम निरस लाग्दो भए पनि मैले चाहे पनि नचाहे पनि यो काम गर्नुपर्छ। मेरो पेट भर्ने यो नै एकमात्र जागिर हो। मैले यो छोडेँ भने भोकै हुन्छु।
खाजाघरको भित्र
आफन्तको ठाँउमा काम गर्नु फाइदा अनि बेफाइदा दुवै छ। यस खाजाघरमा अहिले काम गरेको सात वर्ष भइसकेको छ र खेम यो काम छोडेर जान अप्ठ्यारो मान्छन्।
खेम आफन्तप्रति निकै ऋणी रहेका महसुस गर्छन् किनभने उनीहरूले उनलाई खाना, काम र बास दिए र उनको केही नहुँदा उनलाई काम दिए। खेमलाई यो काम छोड्न अप्ठ्यारो लाग्नुलाई एक प्रकारका बन्धन जस्तो पनि लाग्छ, जसले उनलाई राम्रो अवसर खोज्न दिइरहेको छैन। तर खेम चाँडै नै विदेश जाने योजना बनाउँछन्। आफूसँग पैसा बचत नभएकोले आफन्तहरूबाट पैसा सापटी लिएर भएपनि विदेश जाने भन्छन्। उनले कमाउने महिनाको ७ हजार रुपैयाँले उनको खाना र लुगाको खर्च मुस्किलले धान्छ। उनले आमालाई पनि पैसा पठाउँछन्।
मेरो कामको सबभन्दा राम्रो पक्ष भनेको मिठो खाना बनाएर दिँदा ग्राहकहरूबाट प्रशंसा पाउनु हो।
खाजाघरमा पकाउँदै
सबै प्रकारका काम एकचोटि गर्दै
खेमले सन् २०२३ को फेब्रुअरीमा आफ्नो दैनिकी र अनुभव रेकर्ड गरेका हुन्।
यो उनका लागि एउटा सामान्य दिन थियो। बिहान र दिउँसो मध्यान्हतिरको समय केही सुनसान थियो र दिउँसोको खाजा खाने समय र बेलुकाको समय व्यस्त थियो।
खेम आफ्नो कार्यस्थलमा
खाजाघर राती १० बजेसम्म खुल्छ। त्यसपछि बन्द गर्नुपर्छ। दोहोरी र डान्सबार जस्ता रात्रीकालीन ठाउँहरूलाई मात्र रातीको १ वा २ बजेसम्म खुला राख्न अनुमति छ र ती व्यवसायहरूलाई प्रहरीले निगरानी गर्दछन्। केही खाजाघरहरू प्रहरीको आँखा छलेर ढिलोसम्म खुला रहन खोज्छन्। तिनीहरूले रक्सी बेचेर राम्रो पैसा कमाउँछन् तर प्रहरी आएर जबरजस्ती उनीहरूको पसल बन्द गराउने डर जोखिम हुन्छ।
दिउँसो त्यति ठूला घटनाहरू हुँदैनन्। खेमलाई ग्राहकहरू र व्यवसायका मालिकले गाली पनि गर्छन्, तर खेमलाई यो सामान्य लाग्छ। उनले गर्ने काममा गाली खानु सामान्य कुरा हो । प्रहरीले पनि उनलाई गाली गरिरहेको हुन्छ जुन उनलाई पटक्कै मन पर्दैन।
ग्राहकका अगाडि गाली खाँदै
म सुत्ने कोठासँगै खाजाघर जोडिएको छ। मेरो आफ्नै ओछ्यान छ तर यो कोठामा अरु पनि दुईवटा ओछ्यान छ र कहिलेकाहीँ ग्राहकहरू पनि मसँगै सुत्छन्।
खेमको दिन
बालकको अनुभव
म बिहान ७ बजेतिर उठ्छु। त्यसमछि हातमुख धोएर खाजाघरका लागि मासु र तरकारी किन्न बजार जान्छु।
अनुसन्धानकर्ताको अनुभव
खेमको कोठा खासमा भण्डार कोठा हो। खेम भण्डार कोठामा रहेको एउटा ओछ्यानमा सुत्छन्। त्यहाँ अरु दुईवटा ओछ्यान छन् जसमा ग्राहकलाई पैसा लिएर सुत्न दिइन्छ। कोठा एकदमै साँघुरो र सामान्य छ। तीनवटा ओछ्यानबाहेक कुनै फर्निचर छैनन्। खेमले कोठामा व्यक्तिगत वा निजात्मक वातावरण पाउँदैनन्। खेम सुत्ने कोठामा फलामको सटर छ र झ्यालहरू छैनन्। जाडो मौसममा कोठा निकै चिसो हुन्छ र गर्मीमा तातो हुन्छ।
खेमको अनुभव
बजार पुग्न मलाई १२ मिनेटभन्दा धेरै लाग्दैन। म बिहानै आउँछु किनभने म ताजा मासु र तरकारी लिन चाहन्छु। मलाई यो काम मन पर्छ । बिहानै पैदल हिँड्दा राम्रो लाग्छ। बिहान बजार निकै चहलपहल हुन्छ। म हरेक पटक एउटै पसलबाट किन्छु। लामो समयसम्म यताउता गर्दिनँ। म बिहान जुन बाटो आएको थिएँ त्यही बाटो फर्किन्छु। बाटोमा त्यस्तो कुनै पनि विशेष घटना हुँदैन। म बिहानको ६:४५ तिर खाजाघर पुग्छु।
भाँडा धुँदै
खेमको अनुभव
खाजाघरमा मेरो कामको दिन चिया र ब्रेडबाट सुरु हुन्छ। आजकल व्यवसाय राम्रो छैन त्यसैले बिहान मेरा लागि त्यति व्यस्त हुँदैन। म खाना पकाउने, भाँडा माझ्नेदेखि सफा गर्नेसम्म सबै काम गर्छु। थोरै ग्राहक हुँदा आराम गर्ने समय पाउँछु। तर खाजाघरको धेरैजसो काम मैले नै गर्नुपर्ने भएकोले त्यति लामो आराम गर्न पाउँदिन।
बिहान १० बजेदेखि ग्राहकको चहलपहल बढ्दैछ। बिहानभरि मैले पकाउने काम गरेँ र अहिले केही थाकेको छु तर खाजाघरमा काम गर्ने म मात्रै भएकोले ग्राहकहरूलाई खाना पनि मैले नै दिनुपर्छ। ग्राहकहरू धेरै भएका समयमा काम पनि धेरै हुन्छ। सबै ग्राहकहरूले मलाई विभिन्न काम अह्राउँदा दिक्क लाग्छ। म खाजा दिन्छु र जुठा भाँडा उठाएर माझ्छु। निरसलाग्दो काम भएपनि बानी परेको छु त्यसैले मलाई खासै गाह्रो हुँदैन।
ग्राहकहरूलाई मिठो खाना दिँदा पाउने प्रशंसा मेरो कामको सबभन्दा राम्रो पक्ष हो। मेरो मेहनतको प्रशंसा पाउँदा मलाई खुसी लाग्छ। म आफैँलाई पनि मिठो खाना बनाउँछु भन्ने लाग्छ।
बिहान ११ बजेतिर ग्राहकहरू त्यति धेरै नभएको बेला म खाना खान्छु। मैले खाना खाइरहेको बेला खाजाघरको मालिकले मेरो काम गर्नुहुन्छ। खाना खाइसकेपछि म केहीबेर आराम गर्छु। फुर्सदको समयमा म एक जना छिमेकीसँग कुरा गर्छु।
म दुई बजेतिर खाजा खान्छु। दिउँसो सामान्य रहन्छ। बेलुका ५ बजेतिर रक्सी पिउनका लागि ग्राहकहरू आउन थाल्छन्। तिनीहरूलाई प्रायः सुकुटी आदिको सितन चाहिन्छ। आजको साँझ पनि अरुबेला जस्तै व्यस्त छ। म रातिको साढे ९ बजेतिर खाजाघर बन्द गर्ने बेलामा खाना खान्छु।
अनुसन्धानकर्ताको अनुभव
खेम उठेदेखि नै आफ्नो काममा व्यस्त भइहाल्छन्। उनको कोठा र खाजाघर सँगै रहेकोले बिहान बिहानै हतार गरेर काम गर्ने ठाउँ पुग्नु पर्दैन। उनी सफा गर्ने, पकाउने र खाना दिने सबै काममा एकैचोटि व्यस्त हुन्छन्। केही समयपछि खाजाघरको मालिक आएर उनलाई बजारबाट चिनी ल्याउन अह्राउँछन्। खेमलाई यो काम दिक्क लाग्दो हुन्छ तर आफूसँग योभन्दा राम्रो विकल्प नरहेको पनि सम्झन्छन् । गाउँमा उनकी आमा आफ्नो सानो टुक्रा जमिनमा खेती गर्नुहुन्छ तर धेरै उब्जनी हुँदैन। त्यसैले आमालाई उनले नै पैसा पठाउनुपर्छ। आजकल खाजाघरमा ग्राहकहरू घट्दै गएकाले यसले उनको कमाइमा असर गर्ने हो कि भनेर खेम चिन्ता गर्छन्। खाजाघरमा प्रायजसो आउने ग्राहकहरू कि त कामदार श्रमिकहरू हुन्छन् वा गेष्टहाउसमा बस्नेहरू हुन्छन् जसले सस्तो खाना खोजिरहेका हुन्छन्। मानिसहरूको सामान्य चहलपहल कम हुँदै जाँदा गेष्टहाउसबाट आउने ग्राहकहरू पनि घटिरहेका छन्। पछि खेमले चिया खाने केही गिलासहरू धोइरहेका हुन्छन्, र गिलास धोएर मालिकलाई दिन्छन्, जसले ग्राहकरूका लागि चिया बनाइरहेका छन्। निकै जाडो भएकोले खेम कामिरहेको हामी देख्छौँ। खेमले गिलास धोएर मालिकलाई दिएपछि मालिकले उनलाई कराउँदै गिलास फेरि धुन लगाउँछन्। यति धेरै ग्राहकहरूको अगाडि कराउँदा खेम अलिक अप्ठ्यारो मान्छन्। उनले हामीलाई यो सामान्य कुरा रहेको र आफू यसमा बानी परिसकेको बताउँछन्। काम एकदमै धेरै भएको दिन उनको मनोरञ्जनको साधन उनको मोबाइल फोन र कुरा गर्ने छिमेकी हुन्छन्। अरु कुराहरू उनको जीवनमा निरसलाग्दा छन् अनि हरेक दिन उही दिनचर्या हुन्छ।
बाहिर घाम ताप्दै
खेमको अनुभव
खाजाघर म सुत्ने कोठासँग जोडिएको छ। मालिकले मलाई यो कोठा दिएका हुन्। मेरो आफ्नै ओछ्यान छ तर त्यहाँ अरु दुईवटा ओछ्यान पनि भएकाले कहिलेकाहीँ ग्राहकहरू पनि मसँगै सुत्छन्। कोठामा अरुसँगै सुत्दा मलाई कुनै आपत्ति छैन। तर मेरै ओछ्यानमा अरुलाई सुताउन चैँ मन पर्दैन र धन्य अहिलेसम्म त्यसो चैँ गर्नुपरेको छैन। म केहीबेर मोबाइलमा इन्टरनेट चलाउँछु र त्यसपछि ११ बजेतिर सुत्छु।