व्यवसायहरूको बारेमा कथाहरू

काठमाडौंका खाजाघरभित्र गोप्यरूपमा हुने यौन क्रियाकलापको अन्वेषण

काठमाडौंको एउटा प्रमुख यातायात हबमा खाजाघर सञ्चालन गर्नुको वास्तविकता

पुनम र उनको खाजाघर

काठमाडौंभरि साना-साना खाजाघरहरू छ्यासछ्यास्ती पाइन्छन्। धेरैजसो खाजाघरमा चाउमिन र पोलेको मासुका परिकारजस्ता धेरै थरिका खाजाहरू पाइन्छन्। केही खाजाघरले चिया, नास्ता बेच्छन् भने अरू खाजाघरले स्थानीय घरेलु रक्सी तथा तोङ्बा लगायतका मदिराजन्य पदार्थहरू बिक्री गर्छन्। यस्ता खाजाघरहरूको सञ्चालक प्रायः महिलाहरू हुने गर्दछन् र उनलाई सहयोग गर्ने परिवारका सदस्य हुन्छन् र/ वा एक वा दुई जना अन्य कर्मचारीहरू राखिएका हुन्छन्। खाजाघरहरूले यहाँ आउने ग्राहकहरूलाई मुख्य गरी खाजा र मदिराजन्य पदार्थहरू बेच्ने गरे तापनि काठमाडौंका यस्ता खाजाघरहरू विभिन्न किसिमका छन्। मानिसहरूको चहलपहल र आउजाउ बढी हुने ठाउँमा खुलेका कतिपय खाजाघरहरूले यौनकर्म मिलाउने काम पनि गर्छन्।

पुनम (परिवर्तित नाम) काठमाडौंस्थित देशभरका विभिन्न जिल्लाबाट बसहरू आउने जाने गरिरहने मुख्य बसपार्कबाट ३०० मिटरको दूरीमा एउटा खाजाघर चलाउँछिन्। यो बसपार्क नेपालका विभिन्न जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ओर्लने वा विदेशमा धेरै वर्ष काम गरेर परिवार र साथीहरू भेट्न नेपाल फर्केकाहरूको घर जान बस चढ्ने मुख्य ठाउँ हो। यस क्षेत्रमा राजधानी काठमाडौं आउने र यहाँबाट जानेहरूलाई चाहिने सेवाहरू प्रदान गर्न गेस्ट हाउस, रेस्टुरेन्ट, मिठाई पसल, मोबाइल फोन पसल, डान्स बार र खाजाघर लगायतका ठाउँहरू खुलेका छन्। यो क्षेत्र काठमाडौंको सहरलाई फन्को मार्ने राजमार्गसँगै (जसलाई चक्रपथ वा रिङरोड भनिन्छ) जोडिएर रहेको छ। चक्रपथसँगै जोडिएकाले यो क्षेत्र धूलो र धुँवाले रुमलिरहेको हुन्छ। पुनमको खाजाघर नजिकै गेस्ट हाउसहरू, सरकारी कार्यालयहरू, एउटा विद्यालय, वैदेशिक रोजगारीका श्रमिक पठाउने एउटा वैदेशिक रोजगार कम्पनीको कार्यालय र अर्को खाजाघर रहेका छन्। उनको खाजाघर एकदमै पायक पर्ने ठाउँमा रहेको छ किनभने बस्ने मात्र सुविधा भएका तर खाना खाने सुविधा नभएका नजिकैका गेस्ट हाउसहरूबाट यहाँ ग्राहकहरू खाना खान आइरहन्छन्।

खाजाघरको अगाडिको भाग*

पुनमको खाजाघर ५०० वर्ग फिटभन्दा कम क्षेत्रफलमा रहेको छ। खाजाघरभित्र दुईवटा ससाना कोठा छन्। खाजाघर छिर्दा पहिलो कोठामा खाना पकाउने ठाउँ छ। त्यहाँ एक छेउमा दुईमुखे ग्याँस चुल्हो देख्न सकिन्छ भने अर्को छेउमा दुईवटा साना खाजा खाने टेबुल छन्। खाना पकाउने ठाउँमाथि सुकुटी मासु झुण्ड्याइएको छ। दोस्रो कोठा पहिलो कोठाको पछाडि छ; यहाँ अरू दुईवटा खाना खाने टेबुल र एउटा ओछ्यान छ। यो ओछ्यानमा पुनमको देवर सुत्छन् (कहिलेकाहीं नजिकै बस्ने पुनमको बुबा आउँदा देवरसँगै यही ओछ्यानमा सुत्छन्)। भित्रको कोठा अलिक गोप्य हुने भएकाले खाजाघरमा आउने ग्राहकहरू प्रायः यही कोठामा बस्न रुचाउँछन्।

खाजाघर अलिक अँध्यारो छ र त्यहाँ राम्रोसँग हावा आवतजावत हुँदैन। खानेकुरा पकाउने ठाउँ सफा छैन र यहाँभित्रको सुविधाहरू सामान्य छन्। उदाहरणका लागि खाजाघरमा भाँडा धुने धारा छैन। त्यहाँ पाइने खानेकुरामा सुकुटीका परिकार, चाउमिन, म:म:, कुखुराको पाङ्ग्रा र मसलेदार मासुका परिकारहरू छन्।

खाजा खाने मुख्य कोठा र भान्सा क्षेत्र (बायाँ) र त्यहाँबाट भित्र दुईवटा टेबुल र ब्लान्केटसहितको ओछ्यान र सिरानमा पङ्खा राखिएको अर्को अलिक एकान्त कोठा (दायाँ)

पुनम ३४ वर्षकी भइन्। उनले कक्षा १२ सम्म पढेकी छिन्। पुनम आफ्नो श्रीमान, दश वर्षकी छोरी, २५ वर्ष हाराहारीका देवर र १७ वर्षकी नन्द कुसुम सँगै बस्छिन्। उनीहरू खाजाघरबाट करिब आधा घण्टाको पैदल दूरीमा दुई कोठा भएको भाडाको फ्ल्याटमा बस्छन्।

पुनमले पाँच वर्षदेखि खाजाघर चलाउँदै आएकी छन्। उनका श्रीमान र देवर पनि त्यही खाजाघरमा काम गर्छन्। नन्द कुसुम विद्यालय नगएको बेला खाजा घरमा आएर सहयोग गर्छिन्। पुनमले नन्दलाई काम गर्न मन लागे गर्नु नलागे नगर्नु भनेर छुट दिएको बताउँछिन्। पुनमको श्रीमानले खानेकुरा पकाउँछन् भने देवरले पकाउनेदेखि लिएर खाजा तयार गर्ने र ग्राहकहरू दिने लगायतका विभिन्न काम गर्छन्। पुनमले मुख्यतया ग्राहकहरूलाई अर्डरअनुसारको खाजा दिने गर्छिन्, तर कहिलेकाहिँ खाजा पनि पकाउँछिन्।

उनको देवरले खाजाघरमा काम गरेवापत तलब पाउँदैनन्; तलबको सट्टा पुनमले देवरको जीविका खर्च पुर्याउने गर्छिन्। उनले दैनिक खाजाघरका भाँडाकुँडा धुने काममा ३० वर्षजति उमेरकी एकजना महिला राखेकी छिन्।

उनको व्यवसायलाई सम्बन्धित सरकारी कार्यालयमा दर्ता गरिएको छैन।

निजी कोठा जसमा थप दुईवटा टेबल र त्यसको माथि कम्बल र फ्यान भएको ओछ्यान

कुसुम (१७ वर्ष)

कुसुमले अघिल्लो वर्ष कक्षा १० को परीक्षा दिएपछि उनका दाइले उनलाई पश्चिम नेपालको दुर्गम गाउँबाट काठमाडौं ल्याएका हुन्। उच्च माध्यमिक शिक्षा पूरा गरी प्रमाणपत्र लिने उद्देश्यले उनी अध्ययन गरिरहेकी छिन् र उनी बिहान विद्यालय जान्छिन्। एउटा गैरसरकारी संस्था र उनको दाइले उनको पढाइ खर्च व्यहोर्छन्। कुसुम विद्यालयबाट फर्किएपछि प्रायः खाजाघरमा दैनिक दश घण्टा काम गर्ने कुरा बताउँछिन्। उनले खाजाघरमा काम गरेबापत तलब पाउँदिनन् तर उनको दाइ र पुनमले नै उनको जीवका र पढाइ खर्च बेहोर्छन्। उनी आफ्नो परिवारलाई खाजाघरमा सघाउन र आफ्नो पढाइ अगाडि बढाउन काठमाडौं आएकी हुन्। भविष्यमा वैदेशिक रोजगारीमा जाने उनको योजना छ।

खाजा खाने कोठाको एक छेउको भित्तामा रहेको सानो भान्साकोठामा खानेकुरा पकाइन्छ।

पुनमसँगै काम गर्ने ठाउँमा

सन् २०२२ नोभेम्बरमा क्लारिसाका तीन जना अनुसन्धानकर्ता (एकजना पुरुष, दुईजना महिला) खाजाघर सञ्चालनको दैनिक वास्तविकता, अभ्यास र त्यहाँका कार्यहरूबारे विस्तृत रूपमा अवलोकन गर्न दुईदिनसम्म पुनमको खाजाघरमा सँगै बसे । खाजाघरको काम बिहान करिब ८ बजेदेखि सुरु भई साँझ करिब ८ बजे सकिन्थ्यो। अनुसन्धानकर्ताहरू प्रत्येक दिन पुनमसँगै दस घण्टासम्म बिताएका थिए।

पुनम, खाजाघरका सञ्चालकहरूलाई समेटेर बनाइएको कलारिसाको कार्यपरक अनुसन्धान समूहको सदस्य हुन्। यस समूहमा सहभागी भएर अनुसन्धानकर्ता र पुनमबीच पहिला नै विश्वासको वातावरण बनेकाले यो कुरा अनुसन्धानमा सहयोगी भएको थियो र उनीहरूलाई एकअर्कासँग सहज महसुस गराएको थियो।
खाजाघरको बसाइका क्रममा अनुसन्धानकर्ताहरूले मोबाइल फोनको मेसेन्जर एप प्रयोग गरी खाजाघर व्यवसाय, यसको वातावरण, कामदार, सेवा र ग्राहकहरूको बारेमा अवलोकन गरेका कुराहरू एकआपसमा आदान-प्रदान गरेका थिए। यसरी अनुसन्धानकर्ताहरूले ग्राहकहरूलाई अप्ठेरो लाग्ने गरी रेकर्डिङ गरेको जस्तो नदेखाइकन नै अवलोकन गरेका कुराहरू टिपोट गर्न सके। अनुसन्धानकर्ताहरूले बेलाबेलामा आफूले अवलोकन गरिरहेका कुराहरू राम्रोसँग बुझ्न पुनमलाई प्रश्नहरू पनि सोधे।

खाजाघर चलिरहेको सम्बन्धमा अलि धेरै बुझ्न अनुसन्धानकर्ताहरूले पुनम, उनको श्रीमान, देवर र एकजना महिला कर्मचारीसँग कुरा गरिरहेका हुन्थे। त्यहाँ दुईजना बालिका पनि हुन्थे। तीमध्ये एक जना बिहानको कलेज सकेपछि आएर दिउँसोदेखि काम गर्ने पुनमकी नन्द कुसुम थिइन् भने अर्की बालिका पुनमकी १० वर्षकी छोरी थिइन्। उनकी छोरी खाजाघरमै रहने गरेपनि त्यहाँ काम भने गर्दिनथिन्।

अनुसन्धान टोली पुनमको खाजाघरमा हुँदा उनको खाजाघर मानिसहरूको भेटघाट गर्ने थलो रहेको देखिन्थ्यो। सामान्यतया बिहान खाने सुविधा नभएका नजिकका गेस्ट हाउसबाट ग्राहकहरू चिया पिउन यस खाजाघरमा आउँछन्। यसरी आउने ग्राहकहरू प्रायजसो वैदेशिक रोजगारीमा जान लागेका वा वैदेशिक रोजगारीबाट घर आएका मानिस हुन्छन्। यस दुई दिनमा त्यहाँ बीसजना ग्राहकहरू आएको देखियो । पहिलो दिन बिहान ९:३० बजेदेखि साँझको ८ बजेसम्म १३ जना ग्राहक आएका थिए भने दोस्रो दिन बिहान ७:३० बजेदेखि साँझ ५:३० बजेसम्म सातजना ग्राहक आएका थिए। पहिलो दिन आउने ग्राहकहरूमा तीन जना किशोर, सात जना पुरुष र तीन जना महिला थिए। दोस्रो दिन आउने ग्राहकहरूमा तीन जना किशोर, दुई जना पुरुष र दुई जना महिला थिए।

खाजाघरमा के भयो ?

पहिलो दिन

सामान्यतया बिहान ५:३० बजेतिर पुनमको देवर र श्रीमानले खाजाघर खोल्ने गर्छन्। पहिलो दिन खाजाघर पूनमको देवरले खोलेका थिए भने पुनम र उनको श्रीमान छोरीलाई स्कुल पठाउन तयार गरी बिहान लगभग ८.३० वा ९ बजेतिर आइपुगेका थिए। दिनको समयमा पुनम र उनको देवर मिलेर खानेकुरा पकाउने र ग्राहकहरू दिने काम गरे। कुसुम कलेज सकेर दिउँसो करिब १२ बजे आइपुग्छिन्। खाजाघरमा भाँडा माझ्न राखिएकी ३० वर्ष हाराहारीकी महिला कर्मचारी बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म काम गर्छिन्। ती महिला कर्मचारीले अनुसन्धानकर्ताहरूलाई आफूले दिनको एक छाक खाना र २०० रूपैयाँ पाउने गरेको बताइन्। उनले पहिले आफै खाजाघर चलाएको पनि बाताइन् (उनी खाजाघरका सञ्चालकहरू समेटेर बनाइएको कलारिसा कार्यपरक अनुसन्धान समूहको सदस्य पनि हुन्)। ती कर्मचारी घर गएपछि परिवारका अन्य सदस्यले नै भाँडा माझ्ने काम गर्थे।

पुनमकी नन्द ग्राहकका लागि चिसो पेय गिलासमा हाल्दै ।

यी दुई दिनमा खाजाघरमा अरू बेलाभन्दा कम ग्राहकहरू आएका थिए। पुनमले नियमित ग्राहकहरू धेरै रहेको तर चुनावको समय भएकाले अहिले कम ग्राहक आएको बताउँछिन्।

बिहान ८ बजे नै घरेलु मदिरा पिउन भनी एक जना पुरुष र एक जना महिला ग्राहक खाजाघर आएका थिए। किशोरावस्थाका (धेरैजसो पुरुष १८ वर्ष मुनिका) एउटा समूह पनि बिहानै खाजाघर आयो। उक्त समूह खाजाघरमा चिया र खाजा खाएरर घण्टौंसम्म बस्यो। तिनीहरूले चुरोटमा गाँजा भरे र केही पर गएर सल्काएर खाए। ती किशोरहरू अलि टाढा बसे र अन्य ग्राहकहरूलाई बाधा पुर्‍याएनन्। पुनमले ती किशोरहरूलाई गाँजा भरेर चुरोट बनाउन दिएकी थिइन्। तथापि उनले ती किशोरहरूलाई गाँजा हालेर चुरोट पिउँदा स्वास्थ्यमा असरहरू पर्ने भन्दै नखानु भनेर धेरै पटक भनेको बताइन्।

खाजाघरको खाजा खाने टेबुलमा राखिएका मसला र एस्ट्रे

बिहान करिब ९ बजे करिब ३० वर्षका दुई जना महिला ६० वर्षका देखिने एक जना पुरुषसँग खाजाघरमा आएका थिए। पुनमले अनुसन्धानकर्तालाई तिनीहरू धनी ग्राहकहरूसँग यौनकर्म गर्ने महिला हुन् भनेर बताइन्। पुनमले ती महिलाहरूले धनी ग्राहकहरूसँग यौनकर्म गर्नुका साथै थोरै पैसा भएका ग्राहकका लागि अन्य यौनकर्मी खोजिदिने दलालको काम पनि गर्दछन् भनी बताइन्। अहिलेका पुरूष, जोसँग ती महिला थिए, सम्पन्न परिवारबाट आएका धनी स्थानीय बासिन्दा थिए।

ती तीनै जना दिउँसोसम्म मोबाइलमा लुडो खेलेर बसे। उनीहरू थोरै पैसाको बाजी राखेर खेलिरहेका थिए र जित्नेले हरेक पटक त्यहाँ बसेर खेल्न दिएबापत पुनमलाई १० रूपैयाँ दिन्थे। तिनीहरूले खेल्ने क्रममा खाजा, सफ्ट ड्रिङ्क्स र रक्सी मगाएर खाए। यसको पैसा पुरुषले तिर्थे। उनीहरू पछाडिको कोठामा बसेर लुडो खेलिरहेको बेला एक जना अनुसन्धानकर्ता उनीहरू बसेको ठाउँ हुँदै खाजाघरको शौचालयमा जाँदा ती पुरुषले एकजना महिलासँग अङ्गालो मारेर बसेको देखे।

एक पटक ती पुरुषले भाँडा माझ्ने महिला कर्मचारीलाई आएर बस्न भने । तर उनले वास्तै गरिनन्। त्यसपछि पुरुषले उनको श्रीमानको बारेमा सोधे र उनलाई अरू बेला आएर सँगै बस्ने गरेको तर आज चाहिँ किन नआएको भनेर सोधेँ। अनुसन्धानकर्ताहरू खाजाघरमा भएका कारण त्यो दिन उनी ग्राहकसँग बस्न नचाहेको जस्तो देखिन्छ।

पुनमकी दश वर्षीय छोरी विद्यालयको पढाइ सकेर साढे चार बजेतिर खाजाघर आइपुग्छिन्। उनले खाजा खाएर चित्र बनाउँदै र अनुसन्धानकर्ताहरूसँग बोल्दै समय कटाइन्। उनले खाजाघरमा आउने पुरुष ग्राहकलाई चिनेकी थिइन् र उनीहरूले एकआपसमा पहिलादेखि नै चिनेको जसरी कुराकानी गरे।

साँझ परेपछि ४० वर्षको हाराहारीका धेरै पुरुषहरू एक-एक गरेर खाजाघरमा आए। उनीहरू त्यहाँ मुख्य गरी रक्सी र मासु खान आएका थिए।

खाजाघर राति ९ बजेसम्म खुला रह्यो। खाजाघर बन्द गरेपछि, पुनम र उनको परिवारले घर जानुअघि त्यहाँ बसेर खाना खाए। बन्द भएपछि पुनम र उनको परिवारले घर जानुअघि खाजाघरमा खाना खाए ।

दिन दुई

खाजाघरमा दोस्रो दिन बिहान साढे ७ बजे नै अनुसन्धानकर्ताहरूले पुनमलाई भेटे। अघिल्लो दिन आएका किशोरहरूको समूह खाजाघरमा पहिलाको जस्तै गफ गर्दै चुरोटमा गाँजा भर्दै बसे। बिहान करिब ९ बजेतिर अघिल्लो दिन आएका दुई जना महिलाहरू फेरि खाजाघरमा आए र उनीहरू आएपछि ती ६० वर्ष नाघेका पुरुष पनि आइपुगे। दिउँसो हुने बेलासम्म उनीहरू मोबाइलमा गेम खेल्दै बसे।

स्कुल बिदा भएकाले पुनमकी छोरी दिनभर खाजाघरमा नै थिइन्। एकजना अनुसन्धानकर्ता खाजाघर बाहिरको ठाउँमा उनीसँग बसेर उनलाई चित्र बनाउन सघाउँदै थिए। उनलाई चित्र बनाउन खुब मन पर्छ र उनी कराते सिक्न पनि जान्छिन्। उनले खाजाघरमा आउने केही नियमित ग्राहकहरूसँग कुरा गर्ने तरिका देख्दा उनी खाजाघरको वातावरणसँग धेरै परिचित छिन् भन्ने आभास दियो। उनी नियमित रूपमा आउने र आफूले चिनेका ग्राहकहरूसँग कुराकानी गर्थिन् ।

तीस वर्ष हाराहारीका एक जना नयाँ ग्राहक दिउँसोतिर खाजाघरमा आइपुगे। उनले केही खाजा खाए र त्यहाँबाट निस्के। त्यसपछि उनी धेरै पटक खाजाघरमा आएर बस्ने, जाने र आउने गरिरहे। अनुसन्धानकर्ताहरूलाई (दुईजना महिला अनुसन्धानकर्ताहरू) उक्त ग्राहकले आफूहरू खाजाघरमा काम गर्ने यौनकर्मी हुन् कि भन्ने सोचेको होला भन्ने लाग्यो।

अघिल्लो दिन झैँ साँझमा रक्सी र मासु खान धेरै मानिसहरू खाजाघर आए।

ग्राहकहरूसँग पुनमको सम्बन्ध

पुनम सामान्यतया खाजाघरमा आउने ग्राहकहरूसँग नम्र भएर व्यवहार गर्छिन्, चाहे तिनीहरू एकपटक आएका हुन् वा बारम्बार आउने ग्राहक हुन्। उनी आफ्ना नियमित ग्राहकहरूसँग धेरै हेलमेल गर्दिनन्। उनी आफू र आफ्नो परिवारलाई खाजाघरमा बारम्बार आउने ग्राहकहरूबाट दूरी बनाएर राख्छिन्। यी दुई दिनमा, पुनमले ग्राहकहरूसँग बसेको वा खुलेर बोलेको देखिएन। उनको परिवार पूरै यस व्यवसायसँग जोडिएको छ र उनको दस वर्षीया छोरी पनि स्कुल नगएको दिन खाजाघरमा नै धेरै समय बिताउँछिन्। सायद यसले गर्दा पनि पुनमले ग्राहकसँग कुराकानी गर्दा होसियार भएको देखिन्थ्यो। अनुसन्धानकर्ताहरूसँगको कुराकानीका क्रममा उनले सुरुमा पसलमा एक्लै बस्न डर लाग्ने र परिवारका पुरुष सदस्यलाई साथमै राख्ने गरेको बताइन्।

पुनमलाई खाजाघरमा आउने केही ग्राहकहरूको चिन्ता लाग्छ। खासगरी किशोर केटाहरूसँग खाजाघरमा चिया पिउन आउने र लागूपदार्थ कारोबारमा संलग्न एक जना किशोरीको औधि चिन्ता लाग्छ। किशोरकिशोरीहरू लागूऔषध कारोबारमा लागेको देख्दा उनलाई चिन्ता लाग्छ, विशेष गरी लागूऔषध कारोबारमा हुने विवादले तिनीहरू झै-झगडा वा मारकाट गर्लान् भन्ने उनलाई डर लाग्छ। पुनम प्रत्यक्ष रूपमा संलग्न नभएपनि उनी किशोरकिशोरीहरूको भलाईको बारेमा सोचेर चिन्ता गर्छिन्। यौनकर्ममा संलग्न १८ वर्षमुनिको एउटी युवती ग्राहक खोज्न खाजाघरमा आइपुग्छिन् र ती केटीले ग्राहकहरूलाई दिक्क लगाएको लागेमा (जस्तै ती केटी ग्राहकहरूलाई फकाउन काखमा बस्दा) गाली गरेर पठाउने गरेको पुनम बताउँछिन् । पुनम आफ्ना ग्राहक वा परिवारका अगाडि अरूले यस प्रकारको व्यवहार देखाएको मन पराउँदिनन्।

खाजाघरको अर्थशास्त्र

पुनमले खाजाघरबाट दिनको तीन हजारदेखि नौ हजाररूपैयाँसम्म कमाउछिन्। अनुसन्धानकर्ताहरूले अवलोकन गरेको पहिलो दिनमा उनले तीनहजार सातसय रूपैयाँ कमाएकी थिइन्।

पुनमको महिनावारी हुने मुख्य खर्च खाजाघरको १७ हजार रुपैयाँ भाडा र उनी आफ्नो परिवारसँग बस्ने कोठाको नौ हजार रूपैयाँ भाडा हो। उनले लगभग दुई लाख रूपैयाँ तिरेर चलिरहेको खाजाघर किनेकी हुन् र खाजाघर किनेपछि त्यसमा ८४ हजार रूपैयाँ थप लगानी गरेकी थिइन्। उनको दुई लाख रूपैयाँ ऋण छ र उनी त्यो ऋणको पैसा किस्तामा बुझाउँछिन्। हरेक महिना खाजाघर र कोठाको भाडा तिर्न सजिलो होस् भनेर उनी दैनिक एक हजार रूपैयाँ बचत गर्छिन्।

यो खाजाघरको व्यवसाय पुनमको आम्दानीको एक मात्र स्रोत हो। आफूले कमाएको पैसा परिवारको सबै खर्च धान्न प्रयोग गर्छिन्। उनी खाजाघरमा सामान किनेको, बेचेको र नाफा गरेको हिसाबहरू खातामा टिप्ने गर्दिनन्। उनीसँग नाफा र खर्चको हिसाबकिताब, र भविष्यको आर्थिक कारोबारको योजना बनाउन वित्तीय साक्षरताको ज्ञान कम रहेको देखिन्छ।

खाजाघर व्यवसाय सञ्चालनमा हुने निश्चित खर्चहरूबाहेक पुनमले नियमित रूपमा किराना पसलबाट सामानहरू खरिद गर्नुपर्छ। पुनमले नजिकैको तरकारी पसलबाट बिहानै तरकारी किन्छिन्। कहिलेकाहीँ व्यस्त हुँदा उनी तरकारी पसलेलाई फोन गरेर चाहिएका कुरा टिपाउँछिन् र पछि फुर्सद भएको बेला गएर ल्याउँछिन्। कहिलेकाहीँ तरकारी पसलेले बिग्रिन लागेका तर खान मिल्ने तरकारीहरू सित्तैमा दिने गर्छन्। पुनम र तरकारी पसले एउटै जात र एउटै गाउँका भएकाले एकअर्कालाई विश्वास गर्छन्। उनले आफ्नो खाजाघरका लागि खानेपानीको जार पनि किन्छिन् र डेलिभरी गर्ने गाडीले खानेपानी ल्याइदिन्छ। उनले नजिकका छुट्टाछुट्टै पसलबाट मासु, घरेलु मदिरा, किराना सामान, चुरोट र दुनोटहरू किन्छिन्।

पाँच वर्षदेखि खाजाघर चलाइरहेको भएपनि पसल दर्ता नगरिएकोले पुनम ब्रान्डेड रक्सी नगद तिरेर नै खरिद गछिन्। उनी उधारोमा सामान खरिद गर्न सक्दिनन्। उनी सस्तो मूल्यमा मदिरा पाइने पसल छान्छिन्। पुनम घरेलु मदिरा किन्न ५ किलोमिटर टाढाको गाउँ पुग्छिन्। अन्य खानेकुरामा नाफा थोरै हुने भएकाले उनले खाजाघरमा यस्ता मदिरा बेच्नु जरूरी छ।

पुनमले भनेको कुरा बुझ्ने क्रममा उनले अनौपचारिक रूपमा आफ्नो छेउमा रहेको अर्को एक मात्र खाजाघरको बारेमा आफूलाई थाहा भएका विभिन्न कुराहरू बताइन्। त्यो खाजाघरले ग्राहकहरूलाई दिने यौन सेवा, यौन कार्यका लागि भर्खरका युवतीहरू सहभागी हुने कुरा र व्यवसायलाई टिकाइराख्न बारम्बार केटीहरू परिवर्तन गर्ने विषय उनले सुनाइन्। ती युवतीहरूसँग पैसा नहुँदा निःशुल्क खाजा खुवाउने गरिन्छ। पुनमले यसरी (अर्थात् यौन सेवा दिन युवतीहरू राखेर) त्यो खाजाघरसँग प्रतिस्पर्धा गर्न नचाहेको बताइन्। अनुसन्धानकर्ताहरूले उनको खाजाघर र प्रतिस्पर्धी खाजघरहरू बीचमा रहेको भिन्नताको बारेमा सोधेको जवाफमा उनले आफ्नो श्रीमानले नजिकैका होटल र गेस्ट हाउसबाट वैदेशिक रोजगारमा जाने र आएका श्रमिकहरूलाई खाजाघरमा ल्याउने पुलको रूपमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको खुलासा गरिन्। यसले गर्दा उनको खाजाघरमा ग्राहकहरू आइरहने हुन्छन्।

उनी आफूले ग्राहकहरूलाई मिठो खाजा खुवाउने गरेकाले खाजाघरमा ग्राहकहरू आकर्षित गर्न सकेको हो भन्ने महसुस गर्छिन् र उनको खाजाघरमा नियमित आइरहने इमान्दार ग्राहकहरू रहेको पनि उनी सुनाउँछिन्। पुनम सेकुवा पोलेर बेच्ने ठाउँ थपेर आफ्नो व्यवसाय बढाउन चाहन्छिन् तर उनलाई सेकुवा पोलेको धुवाँले उनको व्यापार बढाउने गेस्ट हाउसहरूलगायत नजिकैका कार्यालयहरूलाई असर पर्न सक्छ कि भन्ने चिन्ता छ। उनी आफ्नो व्यवसायलाई वरपरका अन्य व्यवसायहरूसँगको असल सम्बन्धमा असर नपुग्ने गरी विस्तार गर्न चाहन्छिन्।

खाजाघरको खाजा खाने मुख्य कोठाको काठको दराजमा राखिएका रक्सी र अन्य पेय पदार्थ, चिया बनाउन प्रयोग गरिने ताप्के, पेय पदार्थहरू दिन प्रयोग गरिने विभिन्न कप र गिलासहरू ।

निष्कर्ष

अनुसन्धानकर्ताहरूले खाजाघरमा दुई जना बालिकासहित पुनम र उनको परिवारसँग दुई दिन समय बिताए। खाजाघर भनेको यात्रुहरूका लागि केही सस्तो दाममा खाजा खाने र पिउने ठाउँ हो। यसले वरपरका स्थानीय बासिन्दाहरू जमघट हुने, भेटघाट गर्ने र लामो समय बिताउने ठाउँ प्रदान गर्दछ। खाजघरमा विभिन्न उमेर र सामाजिक-आर्थिक पृष्ठभूमिका सबै नेपाली ग्राहकहरू आउने गरेको देखियो।

पुनमले खाजाघर चलाएर आफ्नो परिवारको भरणपोषण गर्न पुग्ने पैसा कमाउन सक्छिन्। अनुसन्धानकर्ताहरू दुई दिन बस्दा पुनमसँग उनको व्यवसाय सञ्चालनलाई सम्भव बनाउने व्यवसाय मोडेल बारेमा केहि खास कुराहरू देख्न पाए। खाजाघरले खाजाहरू सस्तोमा बेच्छ र यसका लागि खर्च पनि कम नै गर्नुपर्छ। उनले स्थानीय पसलेहरूसँगको राम्रो सम्बन्ध बनाएर र पुनम आफै घुमेर सस्तो दाममा सामान, विशेष गरी ब्रान्डेड रक्सी किनेर (साथै घरेलु रक्सी बेचेर) उनको व्यवसाय फाइदामा चल्दछ।

कर्मचारीमा हुने खर्च न्यून राख्ने कुरामा पनि यो निर्भर छ, भाँडा माझ्ने कर्मचारीलाई सरकारले तोकेको प्रतिमहिना न्यूनतम १५ हजार रूपैयाँ तलबभन्दा आधा पैसा दिइन्छ भने परिवारकै सदस्य र किशोर उमेरकी नन्द समेतले व्यवसायमा सहयोग गर्छन्, प्रायः लामो समयसम्म काम गर्छन्, यसबापत तलब लिंदैनन्, बरू कमाएको पैसाले जीवन निर्वाह र/वा विद्यालय शुल्कहरूमा खर्च गरिन्छ ।

खाजाघरमा ग्राहकहरूले लामो समय बिताउन सक्ने सुरक्षित र निजी ठाउँ उपलब्ध गराउनु (यस कारणले ग्राहकहरू नियमित रूपमा आउनेछन्) र नजिकैका गेस्ट हाउसमा बस्ने नेपाली यात्रुहरूलाई तान्न सक्नु महत्त्वपूर्ण छ। घरेलु मदिरा बेच्दा अलि बढी फाइदा हुने भएकाले घरेलु मदिराको बिक्री पुनमको व्यवसायलाई टिकाउन मद्दत गर्ने अर्को कारक हो। पुनमको वित्तीय साक्षरतासम्बन्धी ज्ञानको कमी र एकदमै अनौपचारिक तरिकाको व्यवसाय सञ्चालनले उधारोमा सामान पाउन (जस्तै, ब्रान्डेड रक्सी), र खाजाघरको वित्तीय कारोबार हेर्न सहयोग गर्ने अन्य प्रकारका सहयोगहरू प्राप्त गर्न उनलाई गाह्रो बनाउँछ र । त्यसैले उनले थप रणनीतिक योजना बनाउनु पर्ने हुन्छ।

खाजा घरको अपीलको अंश यो देखिन्छ कि नियमित ग्राहकहरूले ठाउँलाई घरबाट टाढा-घरको रूपमा प्रयोग गर्न सक्छन् र त्यसैले उनीहरूलाई गोपनीयता चाहिने गतिविधिहरू गर्न सक्छन्, चाहे यो गाँजा चुरोट रोल गर्ने हो वा साथीसँग घनिष्ठ हुन। खाजा घरको धमिलो उज्यालो पछाडिको कोठाले यस प्रकारका गतिविधिहरूलाई उधारो दिन्छ। थप रूपमा, पुनमले यी गतिविधिहरूलाई आफ्नो स्थानमा अबाधित र थोरै टिप्पणी वा हस्तक्षेप बिना गर्न अनुमति दिन्छ। तथापि, पुनमले आफ्ना ग्राहकका गतिविधिहरू अति अविवेकी वा अस्वीकार्य छन् भन्ने महसुस गर्दा सीमाहरू लागू गर्छिन्। उदाहरणका लागि, उनले एक नाबालिगलाई कसरी हप्काइन् जसले आफूसँग यौनसम्पर्कको लागि पैसा तिर्न ग्राहकलाई उत्पीडन गरिरहेको महसुस गरेकी थिइन्। उनको परिवारका सदस्यहरू स्पष्ट घनिष्ठताको प्रदर्शनमा पर्दैनन् भन्ने कुरा सुनिश्चित गर्दा सीमाहरू लागू गर्ने ठाउँमा उनको निर्णयहरू संरचना भएको देखिन्छ।

आफ्नो खाजाघरको पल्लोपट्टि रहेको खाजाघरमा छिट्टो पैसा कमाउने सोचले महिला तथा केटीहरू प्रयोग गरेको देख्दा पुनम आफ्नो व्यवसाय त्यो खाजाघरको व्यवसायभन्दा फरक रहेको ठान्छिन्। तुलनात्मक रूपमा हेर्दा यौनकार्य बारेमा पुनमको फरक सोच देखिन्छ। ग्राहकहरूले उनको खाजाघरमा शारीरिक निकटताका गतिविधि गर्दा वा त्यो ठाउँलाई यौनकर्मीहरूसँग भेट्न सकिने ठाउँको रूपमा प्रयोग गर्दा उनलाई धेरै अप्रत्यक्ष फाइदाहरू (जस्तै खाजा र रक्सी धेरै बिक्री) हुने गर्छ। पुनम आफ्नो परिवारका सदस्यहरूको हकमा रक्षात्मक देखिन्छिन् र नजिकैको खाजाघरले ग्राहकहरू आकर्षित गर्न जानाजानी यौनकर्मलाई प्रयोग गरेको कुरामा आलोचना गर्छिन्। तर पनि पुनमको खाजाघरको संरचनाले के देखाउँछ भने पुनमकी छोरी र नन्दले वयस्क संसारहरूमा हुने यौनजन्य वातावरण, यौनको लेनदेन हुने थलोमा काम गरिरहेकी वा समय बिताइरहेका छन्। उनको खाजाघरको वातावरण भोक लागेर खान गइने अन्य क्याफेहरूमा रहने वातावरणभन्दा फरक छ, यहाँ बालिकाहरू (उनका छोरी र नन्द) यौन आवश्यकताहरू पूरा गर्न खाजाघर प्रयोग गर्ने ग्राहकहरूको निकटमा रहेका छन् ।

फोटो साभार: अनिश बाँस्तोला। व्यवसाय मालिकको लिखित मन्जुरी लिएर।