व्यवसायहरूको बारेमा कथाहरू

ग्रामीण परिवेश र धेरै सहरी क्षेत्रका वास्तविकता बीचमा रहेका अस्पष्ट रेखाहरू

काठमाडौंमा डोहोरी चलाउने वास्तविकता

हरि र उनको डोहोरी व्यवसायको परिचय दिँदै

दोहोरीको शाब्दिक अर्थ दोहोरो सवाल जवाफ भन्ने हो। यही दोहोरो सवाल जवाफलाई भाका हालेर गाउनुलाई नै दोहोरी गीत भनिन्छ। दोहोरी ग्रामीण नेपालको मध्य पहाडी क्षेत्रमा उत्पत्ति भएको परम्परागत लोक गीत हो। यसमा पुरुष र महिला गरी गीत गाउने दुई पक्षहरू हुन्छन्। उनीहरू गीतको भाका हालेर ठट्यौली पारामा सवाल जवाफ गर्छन्। काठमाडौं जस्तो सहरी वातावरणमा दोहोरीलाई मनोरञ्जन गर्ने ठाउँको रूपमा लिइन्छ। दोहोरीमा गायक गायिका र सङ्गीतकर्मीहरू दोहोरी शैलीको गीत सङ्गीत प्रस्तुत गर्छन् भने नृत्य कलाकारहरू नृत्य प्रस्तुत गर्छन्। गीत र सङ्गीत प्रस्तुत गर्ने कलाकारहरू परम्परागत पोशाक लगाएर ग्रामीण नेपाली परिवेश झल्काउने गरी सजाइएको स्टेजमा प्रस्तुति दिन्छन्। दोहोरीमा आउने ग्राहकहरूलाई लाइभ प्रस्तुतिबाट मनोरञ्जन दिनुका साथै स्टेजको वरिपरि राखिएका टेबुलमा बस्ने ग्राहकहरूलाई महिला वेटरहरू उहाँहरूको अर्डरअनुसार खानेकुरा र पेय पदार्थहरू दिन्छन्। दोहोरी सामान्यतया बेलुकाको ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुने भएकाले यसलाई रात्रीकालीन मनोरञ्जन उद्योग पनि भनिन्छ।

हरि (परिवर्तित नाम) एउटा सानो दोहोरी व्यवसाय चलाउँछन्। उनको दोहोरी ठमेल र गोंगबुजस्ता ठूला मनोरञ्जन तथा मानिसहरू आवतजावत हुने क्षेत्रमा नभइकन थोरै रात्रीकालीन चहलपउल हुने काठमाडौंको भर्खरै बसोबास सुरू भएको क्षेत्रमा छ। उनले दोहोरी खोलेको क्षेत्र मिश्रित किसिमको छ। उनको दोहोरी वरपर व्यापारिक र आवासीय दुवै प्रयोजनका भवनहरू रहेका छन् र काठमाडौं भएर चल्ने मुख्य राजमार्गको नजिकै छ। आसपासका अन्य व्यवसायमा फास्टफुड रेस्टुरेन्ट, कपडा पसल र किराना पसलहरू छन्। उनको दोहोरी ६ तले भवनको सबैभन्दा माथिल्लो दुईवटा तलामा रहेको छ। भवनको भुइँ तलामा कपडा पसल छ। अरू तलामा निर्माण र आईटीसँग सम्बन्धित कार्यालयहरू छन्। दोहोरीको मुख्य व्यवसाय स्थल भवनको पाँचौँ तलामा छ र छैठौँ तलामा भने दोहोरीमा हुने गतिविधि हेर्न राखिएको सीसीटीभी फुटेज निगरानी गर्ने एउटा कम्प्युटरसहित सानो कार्यालय छ।

दोहोरीले ३०० वर्ग फिटभन्दा केही बढी क्षेत्र ओगटेको छ र दोहोरीलाई साउन्ड प्रुफ बनाइएको छ। काठमाडौंका रात्रीकालीन व्यवसाय गरिने ठाउँबाट हल्ला बाहिर जान नदिन साउन्ड प्रुफ बनाउन अनिवार्य गरिएको छ। दोहोरीमा प्रवेश गरेपछि दाहिनेतिर कोठाको बीच भागमा काठको एउटा सानो स्टेज रहेको छ। स्टेजको वरिपरि अर्धवृत्ताकार आकारमा २० देखि २५ जना ग्राहकहरू बस्न मिल्ने गरी टेबुल र कुर्सी राखिएका छन्। स्टेज र टेबुलहरूको बीचमा ग्राहकहरू नाच्न सक्ने सानो ठाउँ छ। दोहोरीको देब्रेतिर एउटा सानो भान्छा घर, काठले बनेको नगद काउन्टर र पुरुष तथा महिला दुवैले प्रयोग गर्ने एउटा शौचालय छ। दोहोरीको स्टेजमा झिलिमिली, रङ्गी बिरङ्गी प्रकाश छर्ने बत्तीहरू राखिएका छन् भने ग्राहक बस्ने क्षेत्रमा मधुरो बत्ती छ। दोहोरी कलाकारहरूले परम्परागत पोशाक लगाउँछन्। महिला वेटरहरूले सारी लगाउँछन्। कर्मचारीहरूका लागि लुगा फेर्ने छुट्टै कोठा छैन।

हरिले पछिल्लो ६ वर्षदेखि दोहोरीमा म्यानेजरको रूपमा काम गरेका छन्। उनी दोहोरी कलाकार पनि भएकाले उनी बेलाबेलामा स्टेजमा प्रस्तुति दिन्छन् र उनलाई यो प्रस्तुति दिने कार्य मन पर्छ। हरिको काम भनेको कर्मचारीहरूको सुपरिवेक्षण गर्नु र दोहोरी व्यवसायको दैनिक कामकाज सम्हाल्नु हो। यसमा ग्राहकहरूलाई स्वागत गर्ने, तिनीहरूसँग सम्बन्ध बढाउने र राम्रो सम्बन्ध कायम राख्ने कामहरू पर्छन्। कलाकारहरू छुट्टीमा हुँदा हरिले नै उनीहरूको जिम्मेवारी सम्हाल्दै स्टेजमा प्रस्तुति दिन्छन्। यसका अतिरिक्त उनी हप्ताको दुई पटक दोहोरी कलाकारहरूलाई गायन गाउन सिकाउँछन्। खाली समयमा उनी आफ्नो समुदायको डोजो (मार्शल आर्टस्) समूहले आयोजना गर्ने गतिविधिहरूमा सहभागी हुन्छन् र यस्ता गतिविधिहरूमा प्रायः दोहोरी गीत प्रस्तुत गर्छन्।

यो दोहोरी सन् २०१५ मा खुलेको हो। दोहोरी मालिक एक जना पुरुष छन्। उनको श्रीमती दोहोरीको क्यासियर हुन्। उनले नगद काउन्टर हेर्ने भएकाले उनी दैनिकजसो दोहोरीमा आउने गर्छिन्। उनको श्रीमानले डान्सबार पनि चलाएको हुनाले दोहोरीमा कहिलेकाहीँ वा आवश्यकताअनुसार आउँछन्। उनले दोहोरी व्यवसाय सञ्चालनको पूर्ण जिम्मा हरि र आफ्नो श्रीमतीमा छोडेका छन्।

काठमाडौंमा विभिन्न तहका दोहोरीहरू रहका छन्। कुनै दोहोरी पारिवारिक वातावरणका छन् भने कुनै बढी कामुक र यौनजन्य वातावरण भएका छन्। [insert link to CLARISSA life stories] र [insert link to [Insert link to DITL stories] ] ले विभिन्न स्तरका दोहोरीमा काम गर्ने बालबालिकाहरू देखाउँछन्। यसमा शोषण गर्ने दोहोरी पनि छन्। क्लारिसा अनुसन्धानकर्ताहरूले कार्यपरक अनुसन्धान समूहसँग कैयौँ महिनासम्म सँगै बिताएर व्यवसाय मालिकहरूसँग बनाएको विश्वासले बालबालिका काम गर्ने दोहोरीहरू पहिचान गर्न र ती दोहोरीसम्म पुग्न सहयोग गरेको थियो। हरिको दोहोरी धेरै शोषण कार्यहरू गरिने दोहोरीभित्र नपर्ने भएपनि यस्ता ठाउँहरूमा मालिकसम्म कुराकानी गर्नु र उनीहरूको साथ सहयोग पाउनु असम्भव छ। तथापि यस सन्दर्भमा वर्णन गरिएको व्यवसायको स्वरूप र वातावरणको उद्देश्य भनेको बालबालिकाले यस्ता प्रकारका वातावरणमा पनि काम गरिरहेका हुन्छन् भन्ने कुरा चित्रण गर्नु हो।

वेट्रेसहरू दोहोरीको बस्ने ठाउँमा उभिन्छन् जबकि गायक, संगीतकार र एक नर्तक स्टेजमा प्रस्तुत हुन्छन्। स्टेजलाई ग्रामीण इडाइल जगाउन सजाइएको छ, जबकि बस्ने ठाउँ शहरी नाइट क्लब वा बारसँग मिल्दोजुल्दो छ।

काममा हरिको साथ

सन् २०२२ जनवरीको सुरुवातमा क्लारिसाका दुई अनुसन्धानकर्ताहरू दोहोरी सञ्चालनको दैनिक वास्तविकता, अभ्यास र दबावहरू बारेमा विस्तृत रूपमा अवलोकन गर्न हरिसँगै तीन दिनसम्म दोहोरी गए। दोहोरीको काम बेलुका उज्यालो हुँदै सुरु भएर मध्य रातिको १ बजेतिर सकिन्थ्यो। अनुसन्धान टोलीले दोहोरीमा गरिने प्रस्तुति, आर्थिक कारोबार, कर्मचारीको अनुभव र ग्राहक सम्बन्धहरू बारेमा गहन अवलोकन गरे। साथै प्रवन्धक र कामदारहरूबाट तिनीहरूको भूमिका तथा जिम्मेवारी बारेमा थाहा पाए। कहिलेकाहीँ अनुसन्धानकर्ताहरू दोहोरीमा गरिने कामको अनुभव गर्न निश्चित कार्यभार पनि सम्हाल्थे। प्रत्येक दिनको अन्त्यमा अनुसन्धानकर्ताहरू आफूले अवलोकन गरेका कुराहरू रेकर्ड गर्दथे।

दोहोरीमा रहँदा अनुसन्धान टोलीले हरिसहित १७ कर्मचारीले गर्ने खासखास काम र काम गर्ने वातावरणको अवलोकन गरे। १७ कर्मचारीमा १० जना स्टेजमा प्रस्तुति दिने कलाकार छन्। त्यसमा ५ जना नाच्ने र गाउने महिला कलाकार छन् भने ५ जना पुरुष कलाकारहरू छन्। ती पुरुषहरू मुख्य गरी साङ्गीतिक बाजाहरू बजाउँछन् तर घरिघरि गाउने पनि गर्छन्। प्रस्तुति नदिने कर्मचारीहरूमा एक जना क्यासियर (दोहोरी मालिककी श्रीमती) छिन्। उनी दैनिक नगद सम्हाल्छिन्, बिक्रीको अभिलेख राख्छिन् र ग्राहकहरूलाई बिल दिन्छिन्। दोहोरीमा तीन जना महिला वेटरहरू, एक जना कुक र एक जना सुरक्षा गार्ड छन्। पहिलोचोटि हेर्दा क्लारिसाका अनुसन्धानकर्ताहरूलाई अधिकांश कर्मचारीहरू १८ वर्ष वा सोभन्दा माथि उमेरका होलान् भन्ने लागिरहेको थियो। तथापि, एकदमै धेरै मेकअप गरेकाले अनुसन्धानकर्ताहरूले महिला कर्मचारीको उमेर ठम्याउन सकेका थिएनन्। एक जना महिला कलाकार कम उमेरकी देखिन्थिन् र उनी १८ वर्षभन्दा कम उमेरकी हुन सक्थिन्।

हरिको साथमा तीन दिन बिताउँदा करिब २० देखि २५ जना ग्राहकहरू आएको पाइयो। आएका ती सबै ग्राहक २० देखि ४५ वर्षका पुरुष थिए। हरिको साथमा तीन दिन बिताउँदा करिब २० देखि २५ जना ग्राहकहरू आएको पाइयो। आएका ती सबै ग्राहक २० देखि ४५ वर्षका पुरुष थिए।

संगतको क्रममा, अन्वेषकहरूले दोहोरी प्रवेशद्वारमा ग्राहकहरूलाई स्वागत गर्दै हरिलाई समर्थन गरे। यो एउटा काम हो जुन हरिले सामान्यतया आफैंले गर्ने हो।

दोहोरीमा के भयो ?

दिन एक

हरिको साथमा रहेको पहिलो दिन जनवरीको सुरुको बिहिवार थियो। यो दिन दुई अनुसन्धानकर्ताहरूले हरिलाई उनको घरमा दिउँसो डेढ बजेतिर भेटे। हरिले बेलुका ४ बजेसम्म दोहोरीसँग सम्बन्धित कुनै काम गरेका थिएनन्। दोहोरी मालिकले हरिलाई फोन गरेर काम पुग्ने समय बारेमा जानकारी लिए। बेलुका ४ बजेपछि हरिले दोहोरी भित्र सुरक्षित छ छैन र कर्मचारी आइपुगेका छन् छैनन् भन्ने हेर्न बेलाबेलामा दोहोरीको सीसीटीभी क्यामेराको फुटेज आफ्नो मोबाइलमा हेर्ने गर्थे। समान्यतया कर्मचारीहरू दोहोरीमा साढे ५ देखि ६ बजेभित्र आइपुग्छन्। तर हरिले गायन सिकाउने बुधवार र बिहिवारको दिनमा साढे ४ बजेदेखि नै सिक्न सुरु गर्छन्।

साढे ६ बजे हरि दोहोरी पुग्छन्। कर्मचारीहरू गायन कक्षा लिनका लागि पर्खेर बसिरहेका थिए। तर हरिलाई रुघाखोकी लागिरहेकाले आफूले गायन कक्षा दिन नसक्ने भनेर ढिलो आए। हरि आइपुग्दा धेरैजसो कलाकारहरूले मेकअप र परम्परागत पोशाक लगाएर तयार थिए। एक जना महिला कलाकार अझैपनि तयार भइसकेकी थिइनन्; उनी मुख्य दोहोरी क्षेत्रको एउटा कुनामा मेकअप र लुगा फेर्ने काम गरिरहेकी थिइन्।

क्याप्सन: दोहोरी खुल्नुभन्दा पहिले एक डान्सर स्टेजको छेउमा तयार हुँदै।

सबै कर्मचारी तयार भइसकेपछि हरिले तिनीहरूसँग अनौपचारिक छलफल गरे। उनले तिनीहरूलाई ग्राहकहरू लोभ्याउने र स्वागत गर्ने हाउभाउसहित स्टेजबाट शानदार प्रस्तुति दिनु पर्छ, ग्राहकहरूलाई स्टेजमा आमन्त्रण गरी उनीहरूले रोजेको गीत छान्न प्रोत्साहित गर्नु पर्छ भनेर सुझाए।

त्यसपछि कलाकारहरू बेलुकाको करिब ७ बजेतिर स्टेजमा चढे र राष्ट्रिय गीत गाए। त्यसपछि पालैपालो आफ्नो रोजाइको गजल गीत गाए। हरिले तिनीहरूको प्रस्तुतिमा सुधार गर्न गायन शैली बारेमा सल्लाह दिए। एक समयमा कुनै पनि ग्राहक त्यहाँ नभए पनि हरिले माइक्रोफोनबाट उनीहरूलाई प्रस्तुति जारी राख्न लगाए र हामी अनुसन्धानकर्ताहरूलाई गीतको आनन्द लिन अनुरोध गर्दै तिनीहरूलाई प्रोत्साहित गरे।

एक कलाकार स्टेजमा गाउँछन् र नाच्छन्

स्टेजमा पाँच पुरुष र पाँच महिला गरी कुल १० कलाकारहरू थिए। हरिले आफै गीत गाएर र केही साङ्गीतिक बाजा बजाएर ग्राहकहरू नआउन्जेल पालो दिए। महिला कलाकारहरू स्टेजमा हुँदा बेलाबखतमा फोनमा बोल्न र म्यासेज हेर्न मोबाइल चलाइरहेका हुन्थे। ती फोन र म्यासेजहरू व्यक्तिगत वा कामसँग सम्बन्धित थिए भन्ने हामीले थाहा पाउन सकेनौँ।

कर्मचारीहरूमध्ये केही कम उमेरको देखिने एक महिला कलाकार आएर हामी नजिकै बसिन्। उनले गैरसरकारी संस्थामा काम गर्ने रुचि व्यक्त गर्न खोजिन्। उनले केही महिना अघि उच्च माध्यमिक शिक्षा पूरा गरेको पनि बताइन्। उनले उमेर २२ वर्ष बताए पनि १७ देखि १८ वर्षकी देखिन्थिन्। वास्तवमा नेपालमा धेरैजसो बालबालिका यही उमेरमा उच्च माध्यमिक शिक्षा पूरा गर्ने गर्छन्। उनी मध्य नेपालको एउटा जिल्लाबाट आएकी र नजिकैको क्लबमा काम गर्ने छिमेकी दिदीमार्फत दुई महिनाअघि यो दोहोरीमा आबद्ध भएकी थिइन्। बालबालिकालाई दोहोरीमा काममा भर्ती गर्ने यो सामान्य तरिका हो

यसबीच दुई जना महिला वेटरहरू प्रस्तुति हेर्दै सोफामा बसे। समय पालन गर्ने कुरामा कडा नियम भए पनि एक जना महिला वेटर बेलुकाको ८ बजे आइपुगिन् र कुनामा गएर मेकअप गर्न थालिन्। एउटा पुरुष कर्मचारीले बियरको बाकस बोकेर ल्याए र अर्को कर्मचारीले तरकारी र किराना सामान ल्याए।

राति करिब ९ बजे हरि आएको झण्डै तीन घण्टापछि पहिलो ग्राहक दोहोरीमा प्रवेश गरे । हरिले ग्राहकहरूलाई स्वागत गरे, तीन पुरुषहरूको समूह, र उनीहरूलाई सिटमा बस्न आमन्त्रित गरे। उसले वेट्रेसहरू मध्ये एकलाई तिनीहरूलाई सहज बनाउन र तिनीहरूको अर्डर लिन आउन इशारा गर्यो। यसअघि कलाकारहरुले एकल गजल मात्र गाउने गर्दथे, तर ग्राहक आएपछि एकजना पुरुष र एक महिलाले दोहोरी गीत गाउन थाले । स्टेजमा अन्य कलाकारहरू गीतमा नाच्न थाले। वेट्रेसले ग्राहकहरूलाई मेनु लगे। एक ग्राहकले उनलाई आफ्नो नजिक आउन आग्रह गरे र उनको कानमा केहि फुस्साए। अर्डर गर्न भान्सामा जाँदा उनी मुस्कुराउँदै थिइन्। पछि अर्को वेट्रेस आएर सोफामा ग्राहकको छेउमा बसिन् । उनी एकजनासँग कुरा गरिन् र हाँस्न थालिन्, र उसले उनको कानमा केही फुस्यो र उनको अनुहार र कपाल छोयो। उनी केही बेर भान्सामा गइन् त्यसपछि तीनवटा बियरका बोतल लिएर ग्राहकसँग सामेल भइन्।

कर्मचारीहरूले रातको करिब १० बजे पालो गरेर खाना खाए। पालो गर्नुको कारण स्टेज कहिल्यै पूर्ण रूपमा खाली नहोस् र ग्राहकहरूले मनोरञ्जन पाइरहून् भनेर थियो। हरिले हार्मोनियम र त्यसपछि पछि ड्रम प्याड बजाएर सङ्गीतकारहरूलाई खाना खाने पालो दिए। उनले स्टेजमा प्रस्तुति दिइरहेको बेला केही महिला वेटर र कलाकारहरू बार/नगद काउन्टर क्षेत्रमा आएर हुक्का पिए। हुक्का पिउँदा हरि र क्यासियर दुवै जनाले कुनै आपत्ति जनाएनन्।

एक वेट्रेस डोहोरीको बारमा थोरै ग्राहकहरूसँगको अवधिमा ‘हुक्का’ चुरोट

सबै कर्मचारीले रातिको खाना खाइसक्न करिब एक घण्टा लाग्यो। केहीबेर पछि तीन जना पुरुष ग्राहकहरूको अर्को समूह दोहोरीमा प्रवेश गरे। तिनीहरू मातेका जस्ता देखिन्थे। तिनीहरूले आउनेबित्तिकै रम अर्डर गरे र त्यसपछि अरू दुई जना उनीहरूसँग जोडिए। हरिले यो समूहलाई चिन्दथे र तिनीहरूसँगै रम पिउन बसे। त्यसपछि उनीहरूसँग नाचे। हरि सोफामा बसिरहेको बेला स्टेज कलाकारहरूलाई नाच्ने शैली पनि गरेर देखाए। यो कलाकारहरूले नक्कल गरी गीत बजेसँगै ग्राहकहरूसँग अन्तरक्रिया गर्नका लागि थियो। एक पटक हरिले कलाकारहरूलाई परैबाट ग्राहकहरूलाई चुम्बन बर्साउन सङ्केत गरे। यो ग्राहकहरूसँग नजिक हुन कर्मचारीहरूलाई प्रेरित गर्ने वा ग्राहकहरूलाई दोहोरी आएकोमा धन्यवाद व्यक्त गर्न कर्मचारी परिचालित गर्ने एउटा तरिकाजस्तो देखिन्थ्यो वा उक्त ग्राहकले निज कर्मचारीले मनोरञ्जन गराऊन् भनेर हरिसामु आफ्नो इच्छा जाहेर गरेको हुनसक्छ। जेसुकै भए पनि, यो समूहप्रति हरिको व्यवहार हेर्दा तिनीहरू नियमित ग्राहक हुन् र हरिसँग सहज मान्छन् जस्तो देखिन्थ्यो।

रातिको १२ बजेर २० मिनेटतिर केही ग्राहकहरू दोहोरीबाट निस्कने तरखर गर्न थाले। तिनीहरूले नगद काउन्टरमा क्यासियरसँग रक्सीको बिलमा छुट दिन अनुरोध गरे। तर बिलमा भएको कुल रकमले उनीहरूलाई कुनै फरक नपरेको जस्तो देखिन्थ्यो र तिनीहरू बिल तिरेर निस्के। दोहोरी रातिको १ बजे बन्द हुने भएकोले बाँकी सबै ग्राहकहरू रातको १२ बजेर ५० मिनेटबाट निस्कन थाले। दोहोरी १ बजेपछि पनि चलाएमा दोहोरीबाट हुने हल्ला बारेमा छिमेकीहरूले उजुरी गर्छन् भनेर हरिले बताए। यसले गर्दा नयाँ रात्रीकालीन स्थलहरू राति २ बजेसम्म खोल्न पाउने भन्ने सरकारी नियमअनुसार यो दोहोरी खोल्न नपाएको देखिन्छ।

हरिले सुरक्षा गार्डलाई कर्मचारीहरूलाई घर छोड्न एउटा नियमित रूपमा प्रयोग गरिने ट्याक्सी ड्राइभर बोलाउन अह्राए। कर्मचारीहरूको सङ्ख्या धेरै भएकाले दुईवटा समूह बनाएर पालैपालो घर छोड्नुपर्ने देखियो। नजिक बस्ने कर्मचारीहरूलाई पहिले घर छोडेर दोस्रो पटकमा टाढा बस्ने कर्मचारीहरूलाई पुर्‍याइयो। हरि पहिलो समूहमा गए।

[१] धुम्रपान धुम्रपानको लागि पाइप, पानीको कन्टेनरमा जोडिएको एक वा धेरै लामो लचिलो डाँठहरू समावेश गर्दछ जसको माध्यमबाट धुवाँ तानिन्छ। हुक्का नेपालमा रात्रि स्थलहरूमा लोकप्रिय छ।

दिन दुई

दोस्रो दिनको शुक्रबार साँझ हरि ५ बजेर ४५ मिनेटमा दोहोरी पुगे। कर्मचारीहरू ६ बजेतिर आइपुगे र आउनेबित्तिकै सांस्कृतिक पोशाक पहिरिन र मेकअप गर्न लागे। एक जना महिला वेटरले भुइँ र टेबुल सफा गरिन् र प्रत्येक टेबुलमा न्यापकिन मिलाइन्। गार्डले पानीको जार, केही तरकारी र किराना सामान लिएर आए। अघिल्लो दिनजस्तै राष्ट्रिय गीत गाएपछि गायकगायिकाले गीतहरू प्रस्तुत गर्न थाले। ८ बज्नुभन्दा केहीबेर अघिदेखि ग्राहकहरू आउन थाले। यो अघिल्लो दिनभन्दा छिटो थियो। भोलिपल्ट छुट्टीको दिन शनिवार भएकाले शुक्रवार धेरै ग्राहकहरू आएका हुन्।

एउटा समयमा, हरि र क्यासियर (दोहोरी मालिककी श्रीमती) किचन क्षेत्रमा गए अनि ढोका बन्द गरेर केहीबेर छलफल गरे। हामीले उनीहरूको कुरा सुन्न सकेनौँ। यसैबीच, एक जना ग्राहकले एउटा गीत अनुरोध गरे र सबै कालाकारहरू भेला भएर उक्त गीतको बोल इन्टरनेटमा खोज्न थाले। केही समयपछि गीतको बोल भेटियो र ग्राहकले अनुरोध गरेको गीत हरिले गाए। पछि, उनले उक्त ग्राहकलाई मनोरञ्जन दिलाउन सोही गीत म्युजिक सिस्टमको स्पिकरमा बजाए।

पछि, ग्राहकहरूको एउटा समूह दोहोरी प्रवेश गरी बियर अर्डर गरे। एकजना ग्राहकले महिला कलाकारसँग दोहोरी युगल गीत गाउने इच्छा व्यक्त गरे। हरिले उनलाई डान्स फ्लोरमा स्वागत गरे र अन्य ग्राहकहरूलाई प्रस्तुति दिन प्रोत्साहित गरे। त्यसपछि, महिला कलाकार र ग्राहकहरू बीचमा केही प्रेमाभावयुक्त गीति हरफहरू आदानप्रदान भयो। उनले गाइरहँदा अर्को महिला कलाकारले एक जना भर्खरकी महिला कलाकारलाई उनीहरूसँग गीत गाइरहेको ग्राहकसँग कुराकानी गर्न प्रोत्साहित गरिन्।

रातको १० बजेपछि दोहोरीमा अरू ग्राहकहरू आए र त्यो बेलासम्म दोहोरी ग्राहकहरूको ५/६ समूहले लगभग भरिइसकेको थियो। प्रत्येक समूहमा चारदेखि पाँच जनासम्म थिए। हरिले गीत गाए र ग्राहकहरू नाचिरहेका थिए। क्यास काउन्टरमा एक जना ग्राहकले क्यासियरसँग पेय पदार्थको दाम निकै धेरै भएको र नियमित ग्राहकले छुट पाउनु पर्छ भन्दै गुनासो गर्न थाले। तिनीहरूले छुट पाए पाएनन् थाहा भएन तर तिनीहरूले फोन पेबाट बिल तिरे।

दोहोरीको मुख्य क्षेत्रमा केही ग्राहकहरू एक जना महिला वेटरलाई अँगालो हाल्दै उनको गाला मुसारिरहेका थिए। उनको शरीरको हाउभाउले असहज महसुस गरिरहेको देखिन्थ्यो। उनी अलि पर हटिन् र खुट्टालाई उपर खुट्टी लगाएर दह्रोसँग बसिन्। यसपछि पनि उनी ती ग्राहकहरूसँग केहीबेर बसिरहिन् र त्यसपछि तिनीहरूले अर्डर गरेका खानेकुरा र पेय पदार्थ ल्याएर दिइन्।

एक वेट्रेस एक ग्राहक संग बसेर ‘हुक्का’ पिउदै

एक पटक ग्राहकहरूको दुई फरक समूह बीच डान्स फ्लोरमा झण्डै झगडा भयो। नाच्दाखेरि धेरै नजिक आएको भनेर विवाद सुरु भएको थियो। उक्त विवादमा संलग्न एक ग्राहकले परिस्थिति शान्त बनाउन सके। हरि स्टेजमा गीत गाउन व्यस्त थिए र उक्त घटनाले आफूलाई विचलित हुन दिएनन्।

दुई जना महिला वेटरहरू ग्राहकहरूको फरक समूहसँग बसेर गफ गरिरहेका थिए। एउटी महिला वेटर त्यो समूहको एकजना ग्राहकसँग जिस्किन थालिन् भने उनकी सहकर्मी उक्त ग्राहकको साथीसँग बोल्न थालिन्। उक्त ग्राहकले दोहोरीबाट निस्कनु अघि काउन्टरमा एक हजार रूपैयाँ टिप्स छोडेर गए। सोहीबेला, ग्राहकहरूको एउटा अर्को समूहले केही महिला कलाकारलाई उनीहरूसँग आएर बस्न अनुरोध गरे। कलाकारहरूले ग्राहकले अर्डर गरिदिएको वाइन पिए। यसरी पिएको वाइन ती ग्राहकको बिलमा थपिने थियो।

आज शुक्रवार साँझ भएकाले ग्राहकहरू राति १ बजेसम्म बसे। राति १ बजेर १० मिनेटतिर हरिले दोहोरी बन्द गर्न थाले। तर १ बजेर ३५ मिनेटसम्म पनि केही ग्राहकहरू त्यहीँ थिए र निस्कने बाटोनिर उभिएर केही महिला कर्मचारीसँग कुरा गरिरहेका थिए। ट्याक्सी बोलाइयो र पहिलो कर्मचारी समूह गए। हरि आफ्नो मोटरसाइकलमा घर जान निस्के।

तेस्रो दिन

तेस्रो दिन हरि दोहोरीको एक महिला कलाकारलाई साथ लिएर दिउँसो १ बजेदेखि मार्शल आर्टस् समूहको कार्यक्रममा सहभागी भए। मार्शल आर्टस् खेल पूरा भएपछि तिनीहरूले विभिन्न गीतहरू गाए। सो कार्यक्रम दौरानमा करिब साढे ३ बजेतिर हरिलाई एक कलाकारको फोन आयो र उनले काममा सधैँभन्दा एक घण्टा ढिलो पुग्ने भन्दै अनुरोध गर्दै थिइन्। हरिले उनको अनुरोध स्वीकार गर्दै सकेसम्म छिटो आउनू भने।

कार्यक्रम सकिएपछि, हरि र साथमा आएकी कलाकार त्यहाँबाट दोहोरीका लागि निस्के। उनीहरू दोहोरीमा बेलुका साढे ५ बजे आइपुगे। त्यो बेलासम्म धेरै कर्मचारीहरू आइसकेका थिए। कर्मचारीहरूले सधैँ लगाइरहेको दोहोरी पोशाक लगाइसकेका थिए। हरिले त्यसपछि कलाकारहरूलाई ग्राहकसँग कुराकानी गर्ने र उनीहरूसँग संलग्न हुने तरिका बारेमा सुझाउँदै थिए। उनले महिला वेटरहरूसँग पनि छोटो बैठक बसी ग्राहकहरूसँग धेरै समयसम्म सँगै बस्नु पर्छ र अर्डर लिनुभन्दा पहिले ग्राहकहरूलाई व्यवस्थित भएर बस्न दिनु पर्छ भन्ने सुझाव पनि दिए। उनले महिला वेटरहरूलाई ग्राहकहरूसँग बसेर तिनहरूलाई गायन र नृत्यमा भाग लिन प्रोत्साहित गर्नु पर्छ भन्ने पनि सुझाव दिए।

वेट्रेसहरू दोहोरीको सिटमा उभिएर ग्राहक आउने पर्खाइमा छन्

त्यसपछि साँझको ७ बजेतिर कलाकारहरू स्टेजमा उक्लिए। तिनीहरूले पालैपालो गजल गाए र हरिले फेरि तिनीहरूको प्रस्तुति शैली बारेमा सुझाव दिए। प्रस्तुति चलिरहेको बेला हरिले करिब साढे ७ बजेतिर आउने एक जना कलाकारलाई ठट्यौली पाराले जिस्काउँदै भने, “ए, म्याडम तपाईं आइपुग्नु भयो?” उनले हाँसेर प्रतिक्रिया जनाइन् र त्यसपछि छिटोछिटो पोशाक फेरेर मेकअप गरी स्टेजका अन्य कलाकारहरूसँग सामेल भइन्।

साँझ साढे ७ बजेतिर ग्राहकहरूको दुईवटा समूह दोहोरीमा प्रवेश गरे। एउटामा तीन जना पुरुष र अर्को समूहमा चार जना पुरुष थिए। हरिले स्टेजको माइक्रोफोन प्रयोग गर्दै तिनीहरूलाई स्वागत गरे र बस्नलाई अनुरोध गरे। उनले एक जना महिला वेटरलाई ती ग्राहकहरूको सेवामा उपस्थित हुन सङ्केत गरे। दुई जना महिला वेटरहरू मेनु लिएर दुवै ग्राहकहरूको समूहमा गए र तिनीहरूसँगै सोफाको छेउमा बसे। केही कलाकारहरूले दोहोरी गीत गाउन सुरु गरे र केही स्टेजमा नाच्न थाले।

एक जना ग्राहक नगद काउन्टरमा रहेकी क्यासियरसँग कुरा गर्न गए। उनले क्यासियरलाई पहिलेदेखि नै चिनेको झैँ गरी मैत्रीपूर्ण व्यवहार देखाए। तिनीहरूले केहीबेर कुरा गरे र त्यसपछि ती ग्राहक फेरि आफ्नो समूहमा फर्के।

यसैबीच, अर्को ग्राहक एउटा महिला वेटरको कानमा केही भन्दै उनको गाला पनि छोइरहेका थिए। वेटर केही समयका लागि गइन् र त्यसपछि ग्राहकहरूका लागि बियर लिएर आइन्।

साढे ८ बजेपछि अरू केही ग्राहकहरू प्रवेश गरे। हरिले सधैँ झैँ तिनीहरूलाई स्वागत गरे र महिला वेटरहरूले मेनु लिएर तिनीहरू बसेको टेबुलमा गए। पछि हरि स्टेजबाट तल आए र ग्राहकहरूको एउटा समूहसँग बसेर रम मगाए। तिनीहरूसँग बोल्दै गर्दा हरिले स्टेजमा रहेकी एक जना गायिकालाई तिनीहरूसँग सामेल हुन सङ्केत गरे र उनी आएर ग्राहकहरूको छेउमा बसिन्। तिनीहरूले उनका लागि पेय मगाए र उनको कानमा केही कुरा खुसुक्क भने। तिनीहरू एकअर्कासँग गफगाफमा व्यस्त भएको देखिएपछि हरि त्यो समूहबाट उठेर आफ्नो रक्सी बोकेर अर्को समूहमा गए।

अधिकांश ग्राहकहरू गायिकाहरूसँग गीत गाइरहेका र नाचिरहेका थिए भने केही रक्सी पिउनमा नै आनन्दित महसुस गर्दै थिए। केही ग्राहकहरू सोफाको नजिक उभिइरहेका थिए र केही डान्स फ्लोरमा थिए। एउटा ग्राहक एक जना वेटरसँग उनको हात समाएर दोहोरीको एउटा कुनामा बसिरहेका थिए र उनको कानमा केही कुरा भनिरहेका थिए।

पछि एउटा ग्राहकसँग बसिरहेकी एक जना महिला कलाकार उठेर हरि भए ठाउँमा गइन् र सुटुक्क उनको कानमा केही भनिन्। दोहोरीमा सङ्गीतको आवाज चर्को भएकोले तिनीहरू दुवै कुराकानी गर्न बाहिर गए र १० मिनेटपछि फर्किए। त्यसपछि, ती कलाकार स्टेजमा गइन्।

रातिको करिब १ बजेतिर दोहोरी बन्द हुन थाल्यो र ग्राहकहरू बिस्तारै निस्किन थाले। एउटा ग्राहक अझै पनि वेटरसँग कुरा गरिरहेका थिए। पछि ती ग्राहकको साथीले उनलाई बोलाए र उनले वेटरलाई अङ्कमाल गरे बाहिर निस्के। सधैँ झैँ हरिले गार्डलाई ट्याक्सी बोलाउन लगाए र कर्मचारीहरू पनि घर गए।

 

दोहोरी को अर्थशास्त्र

दोहोरी करिब ३० लाख रूपैयाँ लगानी लगाएर सुरू गरिएको थियो। कर्मचारीहरूको औसत तलब १० हजार रूपैयाँ थियो। यो तलब सरकारले तोकेको न्यूनतम १५ हजार रूपैयाँभन्दा धेरै कम थियो। हरि र क्यासियर बाहेक १५ जना कर्मचारीको तलबमा महिनाको डेढ लाख खर्च हुन्थ्यो। हरिले बताएअनुसार दोहोरीको भाडा प्रति महिना ५५ हजार रूपैयाँ छ र यो सोही क्षेत्रमा दिउँसो सञ्चालन हुने व्यवसायको तुलनामा धेरै हो।

दोहोरीमा तुलनात्मक रूपमा उच्च पूँजी लगानी गर्नु पर्छ र व्यक्तिगत तवरमा न्यून तलब भए पनि कलाकारहरू धेरै चाहिने हुँदा कर्मचारी खर्च पनि उच्च हुन्छ। दोहोरीमा प्रायः पुरुष र महिलाहरू दुईतिर बसेर गीतको भाकामा सवाल जवाफ गर्दै गाउनु पर्ने हुँदा जुनसुकै बेला कम्तीमा १० जना कलाकार चाहिन्छ। यो नै नेपालको ग्रामीण क्षेत्रमा परम्परादेखि चलि आएको दोहोरीको प्रमुख आकर्षण हो। त्यसै गरी दोहोरी गीतलाई स्टेजमा जीवन्त बनाउनका लागि केही सङ्गीतकारहरू पनि चाहिन्छ।

हरिको भनाइअनुसार फाइदा हुनका लागि प्रत्येक दिन न्यूनतम २५ हजार रूपैयाँ बराबरको बिक्री हुनु पर्छ। ग्राहकहरू धेरै आउने समयमा विशेष गरी शुक्रवारका साँझहरूमा यो सम्भव देखिन्छ। यो समयमा १५ देखि १८ जनासम्म ग्राहकहरू आउने गर्दछन्। दोहोरीमा ग्राहकहरू नै नहुने समय र दशजना भन्दा कम ग्राहकहरू आउने दिनहरू पनि हुन्छन्। रक्सीको मूल्य तुलनात्मक रूपमा उच्च हुने भएकाले ग्राहकहरूले प्रायः एक वा दुई पेग मात्र मगाउँछन् र दोहोरीमा आउनुभन्दा अगाडि नै ग्राहकहरूले बाहिरबाट रक्सी खाएर आउनु सामान्य हो। एक रात क्लारिसाका अनुसन्धानकर्ताहरूले दोहोरीमा ग्राहक सङ्ख्या गन्दा १५ जना थिए। क्लारिसाका अनुसन्धानकर्ताहरूले त्यो रातको बिक्री ३० हजार रूपैयाँ जति भएको अनुमान गरे। यो भनेको एउटा ग्राहकले २ हजार रूपैयाँ खर्च गर्नु हो र प्रति व्यक्ति दुई पेग वा दुईवटा बियर हो।

तर हप्ताका अरू दिनहरूमा दोहोरीको बिक्री २५ हजार रूपैयाँभन्दा कम हुने गर्दछ। यो दोहोरी धान्न प्रत्येक दिन हुनुपर्ने बिक्रीभन्दा कम हो। यसले गर्दा धेरै ग्राहकहरूको आएको समयमा जतिसक्दो धेरै बिक्री गर्नुपर्ने र उनीहरू पछि पनि आइरहने सुनिश्चित गर्नुपर्ने हुन्छ। यो ठाउँमा यो दोहोरी एउटा मात्र भएकोले अन्यसँग प्रतिस्पर्धा गर्नुपर्दैन तर उनको दोहोरी आवासीय क्षेत्रमा पर्ने भएकाले राति १ बजेसम्ममा बन्द गर्नुपर्ने हुन्छ। यसले गर्दा पनि यहाँ आएर ग्राहकहरू त्यति धेरै खर्च गर्न सक्दैनन्।

ग्राहकहरु संग सम्बन्ध निर्माण र कायम राख्न

दोहोरीभित्र हरिले विभिन्न भूमिका निर्वाह गर्दछन्। उनी गीत गाउँछन्, कर्मचारीलाई प्रशिक्षण र व्यवस्थापन गर्छन्, ग्राहकहरूलाई स्वागत र मनोरञ्जन गराउँछन्। ग्राहकहरूसँग सम्बन्ध निर्माण गरी कायम राख्नु हरिको मुख्य भूमिका हो। ग्राहकहरूलाई सम्हाल्न उनी सिपालु छन्। उनी आफूलाई ग्राहकहरूको समूहमा सामेल गर्दछन्, सँगै रक्सी खान्छन्, डान्सको शैली देखाउँछन्, हाँसी मजाक गर्छन् र ग्राहकहरूले साङ्गीतिक अनुरोधहरू पूरा गर्छन्। दोहोरीमा उनले ग्राहकहरूलाई मनोरञ्जन र सहजता अनुभव गराउँछन्।

तर हरिको ग्राहकहरूसँगको निकटताको भावना ग्राहक र महिला कर्मचारी बीचको घनिष्ठताको भावना सिर्जना गरिदिने कुरामा निर्भर रहन्छ। यसमा महिला वेटरहरूलाई ग्राहकहरूसँग बसेर समय बिताउन प्रोत्साहित गर्नु, कलाकारहरूलाई ग्राहकहरूसँग प्रेमाभाव देखाउन अनुरोध गर्नु, सम्मानित ग्राहक बस्न पाउने भन्दै केही महिला गायिकालाई पुरस्कारको रूपमा राख्नुलगायत पर्छन्। ग्राहकहरू यस घनिष्ठताको अपेक्षा गर्ने र यसमा रमाउने गरेको देखिन्छ। दोहोरीमा महिला वेटरहरूलाई सुम्सुम्याउने कुरा दोहोरीमा अपेक्षित अनुभवको हिस्सा रहेको देखिन्छ। महिला वेटरहरूलाई बारम्बार उनीहरूको पछाडि र अनुहारमा छुने पनि गरिन्छ।

वेट्रेसले ग्राहकको लागि ‘हुक्का’ तयार गर्छिन्

हरिको आफ्नो कर्मचारीसँगको सम्बन्ध

न्यूनतम तलबभन्दा एक तिहाइ कम तलबमा काम गर्ने कर्मचारीहरू ग्राहकबाट पाउने टिप्स र खानेकुरा एवं रक्सी बिक्रीबाट आउने कमिसनमा निर्भर छन्। महिला वेटरहरू ग्राहकसँग एक हदसम्म नजिक हुनु र आफूलाई छुन दिनु आफ्नो कामको हिस्सा हो भन्ने अपेक्षा गर्दछन्। तथापि, कर्मचारीहरू बीचमा भिन्नता रहेको देखिन्छ। केही महिला कलाकारहरूलाई हरि र ग्राहकहरू दुवैले अधिक सम्मानपूर्वक व्यवहार गर्दछन्। उदाहरणका लागि एक जना महिला कलाकारलाई ग्राहकहरूसँग सामेल हुन र रक्सी खान आमन्त्रित गरिनु तर उनलाई ग्राहकले शारीरिक स्पर्श नगर्नु।

फरकफरक प्रकारका कर्मचारी बीचको पदले प्रवन्धक र कर्मचारीहरूबीच रहेको व्यापक औपचारिकतालाई दर्शाउँछ। हरिले आफ्ना कर्मचारीहरूसँग आवश्यक पर्दा मात्र कुराकानी गर्ने गरेको देखिन्छ। जस्तै सल्लाह दिँदा वा काम अह्राउँदा। उदाहरणका लागि ग्राहकहरूलाई प्रस्तुतिबाट मनोरञ्जन गराएबापत आएको टिप्सहरू हरिले कर्मचारीहरूलाई बाँड्दा उनी र कर्मचारीहरूबीच कुनै छलफल वा विवाद भएको थिएन। हरि काममा आउनुपर्ने समयको मामिलामा एकदमै कडा छन्। पहिलो दिन उनले गायन कक्षा प्रदान गर्न नसके पनि कर्मचारीहरू समयमै आएका थिए र तेस्रो दिन एक जना कर्मचारीले एक घण्टा ढिलो आउनका लागि अनुमति मागेकी थिइन्। दोहोरीमा प्रत्येकले गर्नुपर्ने भूमिका र जिम्मेवारीहरू पनि स्पष्ट रूपमा बाँडफाँड गरिएका छन्।

एक महिला डोहोरी वेट्रेस बस्ने ठाउँमा टेबुलमा सेवा गर्दै

निष्कर्ष

दोहोरी लोक कला समृद्ध इतिहास भएको कला हो। ग्रामीण नेपालमा दोहोरी युवा पुरुष र महिलाहरू एकअर्कासँग जोडिने एउटा माध्यमको रूपमा विकास भयो। यसले सामान्यतया परिवार र/ वा समुदायका सदस्यहरूको ध्यान आकर्षित गर्न र रायसुझाव दिन सजिलो बनाउन सक्यो। विवाह सम्बन्धभन्दा बाहिर सामान्य अवस्थामा अस्वीकार्य हुने तर पुरुष र महिला, वा केटा र केटीहरूको समूहबीच ठट्यौली, रोमान्टिक र अर्थपूर्ण सवाल जवाफको रूपमा साङ्गीतिक भाका हालेर खेलिने दोहोरीलाई समाजले स्वीकार गरेको पाइन्छ।

हरिले व्यवस्थापन गरेको व्यवसायले यस दोहोरी लोक परम्परालाई राम्रोसँग अपनाएको छ र कलाकारहरू निकै दक्ष छन्। तथापि, सहरी परिवेशमा दोहोरीहरू धेरै पूँजी हाल्नुपर्ने व्यवसाय भएका छन्। यसमा धेरै लगानी आवश्यक पर्दछ र यसको सञ्चालन खर्च पनि उच्च छ। दोहोरीका लागि आवश्यक पर्ने सेटअप र वास्तविक दोहोरी सञ्चालन गर्न धेरै सङ्ख्यामा कलाकारहरू चाहिने भएकाले पनि लागत उच्च हुन पुगेको हुन्छ। भाडादर पनि तुलनात्मक रूपमा उच्च हुन्छ। रात्रीकालमा सञ्चालन हुने व्यवसायका लागि भाडा बढाउनु सामान्य कुरा हो।

विशेष गरी दोहोरी व्यस्त हुने समयमा सप्ताहान्तका शुक्रवारका साँझहरूमा दोहोरी व्यवसायलाई बिक्री अधिकतम बनाउनुपर्ने निकै दबाव हुन्छ। ग्राहकलाई नियमित रूपमा आइरहने बनाउनु दोहोरीको प्रमुख रणनीति रहने देखिन्छ। क्लारिसा टोलीले अवलोकन गरेका अधिकांश ग्राहकहरू हरिसँग र/ वा कर्मचारीहरूसँग परिचित रहेका थिए र त्यस ठाउँ बारेमा थाहा भएका साथीहरूसँग आएका हुन्थे। दोहोरीमा हुने प्रस्तुति मुख्य कुरा भएपनि ग्राहकहरूलाई आकर्षित गर्न र नियमित आउने बनाइरहन दोहोरीका कलाकारहरूको साङ्गीतिक कलामा मात्र निर्भर रहनु यो व्यवसायलाई नाफामा चलाउन पर्याप्त देखिँदैन। दोहोरी ग्राहक र महिला कर्मचारीहरू बीच घनिष्ठताको भावना बढाउने कुरामा पनि निर्भर रहन्छ। ग्राहकहरूलाई लामो समयसम्म दोहोरीमा बिताउने र नियमित रूपमा आइरहने बनाउन महिला कर्मचारीहरूलाई सक्रिय भएर ग्राहकहरूसँग शारीरिक र/ वा भावनात्मक निकटता बढाउन पनि प्रोत्साहित गरिन्छ। यसको बदलामा उनीहरू रक्सी र खानेकुराको बिक्रीबाट आउने कमिसन सुरक्षित गर्न सक्छन्।

दोहोरी पुरुष ग्राहकहरूका लागि परम्परागत दोहोरी गीत सङ्गीतबाट मनोरञ्जन दिँदै महिला कर्मचारीसँगको घनिष्ठताका कार्यहरूलाई चर्को सङ्गीत र मधुर बत्तीले लुकाउने वातावरणमा आनन्दित हुने स्थान हो। यहाँको घनिष्ठता प्रत्यक्ष वा स्पष्ट रूपमा यौनजन्य नभए पनि यसमा त्यस्तै खालको अनुभवको अपेक्षा गरिन्छ र महिलासँग शारीरिक र भावनात्मक रूपमा नजिक हुने ग्राहकहरूको चाहना पूरा गरिन्छ। अवलोकन र अध्ययन गर्ने कार्य मुख्य गरी दोहोरीमा मात्र आधारित भएकाले र महिला कर्मचारीहरूलाई पछ्याउने भएकाले अनुसन्धानकर्ताहरूले दोहोरीभित्रको यस प्रकारको घनिष्ठता दोहोरीभन्दा बाहिरका क्रियाकलापहरूसम्म पनि पुग्छ कि पुग्दैन भनेर अवलोकन गर्न सकेनन्। तथापि, दोहोरीभित्र हुने अन्तरक्रियाहरू खानेकुरा र पेय पदार्थको तुलनात्मक रूपमा उच्च मूल्यको क्षतिपूर्तिका रूपमा हो भन्ने अर्थ रहेको हुन्छ। यहाँ ग्राहकहरूले महिला वेटरहरू आएर नजिक हुँदै जिस्किने र उनीहरूको बिल रकम बढाउन धेरै अर्डर गराउँछन् भन्ने अपेक्षा गरेका हुन्छन्।

तलब निकै थोरै हुने भएकोले कर्मचारीहरूका लागि टिप्स र खानेकुरा एवं रक्सीको बिक्रीबाट कमिसन प्राप्त गरेर पर्याप्त पैसा कमाउन यस्ता सम्बन्धहरू बनाउनु परेको हुन्छ। ग्राहकहरूसँगको सम्बन्धका बारेमा वा अन्य मामिलाहरूमा कर्मचारीहरूका कुनै पनि चासोका कुराहरूलाई बिक्री बढाउनुपर्ने आवश्यकता र दोहोरीको पदको संरचनाले हतोत्साहित गर्दछ। दोहोरीको पदको तहको संरचनामा हरि र कर्मचारीहरू बीचको सम्बन्ध औपचारिक र परको हुने गर्दछ।

 

दोहोरीमा महिला कलाकार र महिला वेटरहरूले कसरी अनुभव गर्दछन् भन्ने कुरा बीचको फरकहरू हेर्नु पनि महत्वपूर्ण छ। महिला कलाकारहरू गीत गाउँदै ग्राहकहरूसँग नजिक बसे तापनि उनीहरू स्टेजमा हुने हुँदा सामान्यतया ग्राहकहरूबाट शारीरिक दूरी राख्न पाउँछन्। बेलाबेलामा उनीहरू ग्राहकहरूसँग बसेर रक्सी खाइदिनुपर्ने भए पनि तिनीहरूलाई आदर र सम्मानसाथ व्यवहार गरिएको देखिन्छ। यो उनीहरूमा भएको कलाको कारणले पनि हुन सक्छ। साङ्गीतिक कलाको स्वरूप र उनीहरूको प्रतिभाको प्रशंसा गरिन्छ। कलाकारहरूले दोहोरीभित्र बढी प्रभाव शक्तिको उपयोग पनि गर्न सक्छन् किनभने उनीहरूको मनोरञ्जन कलालाई मूल्यवान ठानिन्छ र महिला वेटरहरूको तुलनामा बढी माग पनि हुन्छ। यसको विपरीत महिला वेटरहरूको भूमिका भनेको ग्राहकहरूसँग शारीरिक रूपमा बढी नजिक हुनु हो अर्थात् तिनीहरूलाई शारीरिक स्पर्श गरिन्छ र तिनीहरूलाई कम आदरभावले व्यवहार गरिन्छ। साथ व्यवहार गरिन्छ।

महिला वेटर र कलाकारहरू बीचको भिन्नताले सायद एउटा परस्पर रहेको विभाजनलाई प्रतिबिम्वित गर्दछ। दोहोरीमा रहेको सेटअपमा यो भिन्नता अवलोकन गर्न सकिन्थ्यो। स्टेजमा ग्रामीण परिवेश निर्माण गरिन्छ। यहाँ पुरुष र महिलाहरू एकआपसमा गीतको माध्यमबाट ठट्यौली र रोमान्टिक तरिकाले एकअर्कासँग अन्तरक्रिया गर्छन्। यसको ठीक विपरीत महिला वेटरहरू ग्राहकहरूको प्रतीक्षा गरिरहेका हुन्छन्। यहाँ आधुनिक वातावरणले भरिपूर्ण देखिने, काठमाडौंको सहरी वास्तविकताले ओतप्रोत ठाउँमा सम्बन्धहरू बढी लेनदेनमा आधारित हुन्छन् र कामुक प्रकृतिको व्यवसायको स्वरूपले बिक्री बढाउन र नाफायोग्य व्यवसाय सुरक्षित गर्न महिला कर्मचारीहरूसँगको घनिष्ठतालाई प्रयोग गर्दछ।

अनुसन्धानकर्ताहरूलाई घटनास्थल भित्रका कर्मचारीहरूको उमेर सही रूपमा मूल्याङ्कन गर्न गाह्रो थियो। महिला कर्मचारीहरूले भारी मेकअप र परम्परागत पोशाक लगाएका थिए जसले उनीहरूलाई अझ परिपक्व देखाउन सक्छ। त्यहाँ उमेरको आधारमा कलाकार वा वेट्रेसको भूमिकाहरू बीच कुनै भिन्नता देखिएन (सबैभन्दा कान्छो कर्मचारी एक कलाकार थियो)। तर जुनसुकै भूमिकामा, यस प्रकारको डोहोरीमा काम गर्ने नाबालिगहरूले ग्राहकहरूसँग शारीरिक र भावनात्मक रूपमा घनिष्ठ रूपमा संलग्न हुने अपेक्षा गरिएको वातावरणमा उजागर गरिनेछ। बाल दिवसका कथाहरूबाल जीवनका कथाहरूले डोहोरी ठाउँहरूमा काम गर्ने बालबालिकाहरूको दैनिक वास्तविकताहरू प्रकट गर्दछ।

*फोटो साभार: अनिश बाँस्तोला। तस्बिरहरू काठमाडौंको डोहोरीमा खिचिएको थियो जुन आकारमा हरिको डोहोरीसँग मिल्दोजुल्दो छ। तस्बिरहरूमा चित्रित प्रत्येक कर्मचारीद्वारा लिखित सहमति प्रदान गरिएको थियो। व्यक्तिको पहिचान जोगाउन आवश्यक भएमा तस्बिरहरू धमिलो पारिएको छ।