

निशा, १६ वर्षकी बालिका, नेपाल

निशा को जीवन को बारेमा
निशा काठमाडौँस्थित आफ्नो परिवारको खाजाघरमा काम गर्छिन्। निशा, उनका आमाबुवा र सानो भाइ खाजाघरभन्दा एकतला माथि बस्छन्।
निशाको परिवार छिमेकी जिल्लाबाट काठमाडौँ आएका हुन्। निशाकी आमा पहिले एउटा कारखानामा काम गर्थिन् र बुवा सेफको काम गर्थे। तर कोभिड १९ महामारीको समयमा उनको बुवाको तलब घटाइयो र आमाले भर्खर भाइलाई जन्म दिएकी थिइन् त्यसैले उनीहरूका लागि दैनिक गुजारा गर्न निकै कठिन भयो। निशाले स्थानीय एनजीओमा सम्पर्क गरिन् र एनजीओले उक्त परिवारलाई आफ्नै खाजाघर खोल्न सहयोग गर्यो।

ग्राहकहरूलाई खाना दिँदै

“हाम्रो खाजाघर पारिवारिक व्यवसाय भएकोले धेरैजसो मानिस यहाँ खानका लागि आउँछन् र तिनीहरूले दुर्व्यवहार गर्दैनन् तैपनि यस्ता ग्राहक पनि आउँछन् जसले मलाई असहज महसुस गराउँछन्।”

छिमेक
खाजाघरमा आमाबुवालाई सहयोग गर्न थाल्दा निशा १३ वर्षकी मात्र थिइन्।
खाजाघरमा काम गर्ने उनका बुवाआमा र उनी मात्रै छन् र यो उनीहरूको कमाइको एकमात्र स्रोत हो। खाजाघरलाई औपचारिक रूपमा दर्ता गरिएको छैन तर राम्रोसँग चलिरहेको छ। यसका धेरै नियमित ग्राहक छन् त्यसैले बिहानको खाना खाने समयमा र बेलुका यो भरिभराउ हुन्छ। महिनाको नाफा करिब ७० हजार रूपैँया जति हुन्छ। परिवारले खाजाघर खोलेको ठाउँ र एक तलमा माथि बस्दै आएको कोठाको भाडा ३० हजार तिर्छन्।
“आज म धेरै काम गर्न सक्दिनँ किनभने म बिरामी छु, मेरो पेट दुखिरहेको छ।”

पेटको दुखाइ

स्कुल र काम दुवै भ्याउनुपर्ने व्यस्त दिन
सन् २०२२ को नोभेम्बरमा निशाले आफ्नो दैनिकी र अनुभवहरू रेकर्ड गरिन्।
उनले रेकर्ड राख्ने दिन सधैँकै जस्तै व्यस्त दिन थियो । उनी भोकले गर्दा पेट दुखेर केही बिसन्चो थिइन् तर आफूले गर्नुपर्ने सबै काम गर्छिन्। यसमा खाजाघरभन्दा पहिले कलेज जाने र भाइलाई प्रिस्कुलबाट ल्याउने, खुवाउने र उसँग खेल्ने सबै काम पर्दछन्।

निशा आफ्नो कार्यस्थलमा
निशाले वेटर, कुक, क्लिनर र भाँडा माझ्ने सबै खालको काम गर्छिन्। उनले तलब वा ज्याला पाउँदिनन्। गोजी खर्चका लागि महिनाको ५०० रूपैँया पाउँछिन्। निशाले अहिले बिजनेस स्टडिज पढिरहेकी छिन् र वार्षिक शुल्क ३५ हजार रूपैँयाजति छ। उनले कम्प्युटर कोर्स पनि गरिरहेकी छिन् र ग्राफिक डिजाइन कोर्स गर्नका लागि एउटा एनजीओबाट सहयोग पनि पाएकी छिन्।
खाजाघरमा लामो समयसम्म काम गर्दाको दौरान निशाले नजिकका विभिन्न ठाउँमा खाजा पुर्याउनु पर्छ। दिउँसोको खाजादेखि बेलुकासम्म उनको काम एकदम व्यस्त रहन्छ। सुत्न जानुभन्दा पहिले गृहकार्य गर्न केही समय पाउँछिन्।
सानै उमेरमा निशाको विभिन्न जिम्मेवारी छ जस्तैः विद्यार्थीको, कामदारको र रेखदेखकर्ताको। उनी स्मार्ट छिन् र एनजीओजस्ता सहयोगी निकायहरूसँग सफलतापूर्वक समन्वय गर्छिन्। उनी ग्राफिक डिजाइनर बनेर खाजाघरको काम छोड्न चाहन्छिन्।

खाजाघरभित्र
निशाको दिन
बालिकाको अनुभव
मलाई बिहान चाँडो उठ्न मन लाग्दैन, धेरै जाडो हुन्छ।
अनुसन्धानकर्ताको अनुभव
निशालाई सन्चो छैन, उनलाई पेट दुखिरहेको छ। उनकी आमाले उनलाई आराम गर्न भनेकी छिन् तर निशा आफूले गर्ने काम सामान्य रूपमा नै गर्न चाहन्छिन्। आफूले आराम गर्दा खाजाघरमा सबै कुरा सम्हाल्न आमालाई निकै गाह्रो हुनेछ भन्ने उनलाई थाहा छ।

बालिकाको अनुभव
म पढ्न र नयाँ कुराहरू सिक्न उत्साहित छु। पढ्न रमाइलो हुन्छ तर आज शिक्षक आउनुभएन त्यसैले हामीले नयाँ पाठ सुरु गरेनौँ। हामीले पुरानो पाठ नै दोहोर्याइ रहेका छौँ। मैले सिक्न पाउँदा र साथीहरूसँग हुँदा खुसी लाग्छ तर भोकले गर्दा मलाई अलिक सन्चो नभएजस्तो भइरहेको छ। समय नभएर बिहानदेखि मैले केही खान पाएकी छैन।
बालिकाको अनुभव
कक्षा सकिने बित्तिकै म घर पुग्छु किनभने मेरो कलेज नजिकै छ। तर आज अस्वस्थ भएकोले यात्रा लामोजस्तो भएको छ र मलाई धेरै भोक लागेको छ। हिँड्दा कमजोर र रिंगटा चलेजस्तो भएको छ।

छिमेक

बालिकाको अनुभव
मेरो बुवा खाजाघरको मुख्य कुक हो। आमा र म सफा गर्ने, खाजा दिने र भाँडा सफा गर्ने गर्छौँ। कलेजबाट फर्केलगत्तै म खाजाघरमा काम गर्न थाल्छु। खाजा पुर्याउने र भाँडा धुने धेरैजसो म नै गर्छु। बिहान त्यति धेरै काम हुँदैन, त्यसैले म पकाउन पनि सिक्छु।
म ग्राहकहरूलाई खाजा दिँदैछु। तिनीहरूको व्यवहार राम्रो छ त्यसैले म सहज महशुस गर्छु। केही ग्राहकहरू मलाई एकोहोरो हेर्छन् तर म तिनीहरूलाई खाजा दिन्न। बुवा वा आमालाई नै खाजा दिनु भन्छु।
पानी धेरै चिसो भएकोले मलाई भाँडा धुन मन पर्दैन।
म पेट दुखेर बिरामी भएकोले त्यति धेरै काम गर्न सक्दिनँ। म थकित छु र काममा केन्द्रित हुन सकेकी छैन।
यहाँ थोरै मात्र ग्राहक छन् त्यसैले म चाँडै घर जान सक्छु।
अनुसन्धानकर्ताको अनुभव
निशाले बर्गर बनाउँछिन्, बोतलमा सस हाल्छिन्, टेबुल सफा गर्छिन् र भाँडा धुन्छिन्।
एउटा ग्राहकले उनलाई हेरिरहेको उनी बताउँछिन्। यसले उनलाई रिस उठेको हुन्छ तर यसमा केही गर्न नसक्ने भन्छिन्।
निशा निकै मेहनत गर्छिन्।

निशाको भाइको स्कुल
बालिकाको अनुभव
मेरो एउटा तीन वर्षको भाइ छ। आज ग्राहकहरू थोरै भएकाले म कुनै समस्याविना नै विद्यालय गएर भाइलाई ल्याउँछु।
म उसलाई माथि लैजान्छु, उसँग खेल्छु र उसलाई खुवाउँछु। त्यसपछि फेरि खाजाघरमा काम गर्न ओर्लन्छु।
अनुसन्धानकर्ताको अनुभव
घर पुगेर खाना खाई आराम गरेपछि निशा निकै आराम महसुस गर्छिन्। आज निशाले पहिलो खाना खाएकी छिन्। उनी कलेजका लागि केही नोटहरू गर्छिन्, उनको घर तुलनात्मक रूपमा शान्त छ।

स्थानीय गल्ली

बालिकाको अनुभव
म ग्राहकहरूलाई खानेकुरा दिन्छु। उनीहरूले मागे भने खाना थपिदिन्छु। ग्राहकहरूले मसँग राम्रो व्यवहार गरिरहेकाले मलाई राम्रो महसुस हुन्छ।
खाजा पुर्याउनु पर्ने केही पारिवारिक ठाउँहरू छन् जहाँ जान मलाई सहज लाग्छ तर नयाँ ठाउँमा पुर्याउन जाँदा अलिक डर लाग्छ।
सफा गर्नुपर्ने भाँडा धेरै भएकोले मलाई त्यति दिक्क लागिरहेको छ तर पछि आमाले मलाई मद्दत गरेपछि केही सहज महशुस हुन्छ।
अनुसन्धानकर्ताको अनुभव
निशा विभिन्न मानिसलाई खाना पुर्याउन जान्छिन्। नजिकै स्कुल छ र आमाबुवाहरूले बच्चाका लागि उनको खाजाघरबाट खाना अर्डर गर्छन्। उनलाई तरकारी र किराना सामान किन्न जान मन लाग्दैन। समान्यतया यो काम उनका बुवाआमाले गर्छन्।

गृहकार्य
बालिकाको अनुभव
दिनभर काम गर्दा प्रायः निकै व्यस्त भइन्छ त्यसैले बेलुकाको ९ बजेभन्दा अघि हामी खाना खान पाउँदैनौँ।
परिवारको सबैसँग बसेर खाना पाउँदा रमाइलो लाग्छ।
यो बेलासम्म हामी सबै निकै थकित भैसकेका छौँ र अब काम गर्न सक्दैनौँ।
खानापछि म केहीबेर पढ्छु र करिब ११ बजेतिर सुत्न जान्छु।
अनुसन्धानकर्ताको अनुभव
निशाले दिनभर काम गरेकी छिन् तर भर्खरै मात्र आफ्नो गृहकार्य पूरा गर्छिन्।
हरेक रात उनी ६ घण्टा सुत्छिन् जुन सन्चो नभएको बच्चाको लागि पर्याप्त होइन।
निशालाई आफूले गर्ने काम रमाइलो लाग्दैन। उनी कम्प्युटरमा काम गर्न मन पराउँछिन् र एउटा ग्राफिक डिजाइनर बन्ने उनको चाहना छ। उनी पैसा कमाएर आमाबुवाको भविष्य सुखद बनाउन चाहन्छिन्।