

तिशा, १७ वर्षकी बालिका

तिशाको जीवनको बारेमा
तिशा चार वर्षअघि १३ वर्षको उमेरमा आन्टीसँग काठमाडौँ आएकी हुन्। उनी आमाबुवाकी एक्ली छोरी हुन्। उनका आमाबुवा पश्चिम नेपालमा बस्छन्। गाउँमा आफ्नो पढाइलाई अघि बढाउने कुनै विकल्प नभएकाले उनी आफ्नो गाउँ छोडेर काठमाडौं आएकी हुन्। कृषि पेशामा आश्रित उनका आमाबुवाले उनलाई काठमाडौँ पठाउने निर्णय गरे। काठमाडौँ आएपछि तिशाले आन्टीको खाजाघरमा काम गर्न थालिन्।

तिशाले पश्चिम नेपालमा बसोबास गर्ने आफ्ना आमाबुवालाई छोडेर काठमाडौँ पढ्न आएकी छिन्।

मेरो आन्टी भर्खरै जानुभयो; अब मैले नै खाजाघर र सबै ग्राहकलाई हेर्नुपर्छ।

तिशाले काम र जीवनमा धेरै दबाबको सामना गर्छिन्।
प्रत्येक दिन बिहान ६ बजेदेखिको कलेज सकेर ११ बजे उनी खाजाघर आइपुग्छिन् र काम गर्न थाल्छिन्। उनी रातिको साढे आठ बजेसम्म काम गर्छिन् र ग्राहकहरू छन् भने कहिलेकाहीँ त्योभन्दा अबेलासम्म उनी खाजा घरमै हुन्छिन्।
तिशाले सन् २०२२ जुलाई ३० मा आफ्नो दैनिकीको अनुभवहरू रेकर्ड गरेकी हुन्। उनी कलेजमा तीन घण्टा पढ्छिन् र त्यसपछि खाजाघरमा आएर दश घण्टा काम गर्छिन्। घर जाने बेलासम्म राति भइसकेको हुन्छ र एक्लै घर फर्किन्छिन्। उनले कामको धेरै दबाब, ग्राहकका प्रश्न र घर फर्कँदा बाटामा मातेका मान्छेहरूले जिस्काउने जस्ता थुप्रै कुरा छिचोल्नुपर्छ।

खाजाघरको भित्री साजसज्जा र भान्छामा मालिकसँगै बालिका

खाजाघरमा पाकेका खानेकुरा
“मैले धेरै कामहरू सम्हाल्नुपर्छ। मैले खाना पकाउनुपर्छ र ग्राहकहरूलाई दिनुपर्छ।”

तिशा आफ्नो कार्यस्थलमा
खाजाघरमा तिशाले एकदमै धेरै विभिन्न प्रकारका कामहरू गर्छिन्। हेर्दाखेरि उनले नै त्यो ठाउँ चलाइरहेकी देखिन्छ । उनी दिनभरि व्यस्त हुन्छिन् । उनले सफा गर्ने, पकाउने, ग्राहकलाई दिने, रक्सी बनाउने, सामान किन्न पसल जाने र आण्टी नहुँदा काउन्टर सम्हाल्ने सबै काम गरिरहेकी हुन्छिन्।
तिशाले काम गरेबापत तलब पाउँदिनन्। यसको साटो उनको आन्टीले उनको पढाइ खर्च दिँदै आएकी छिन्। तिशाले फुर्सद पाउने बित्तिकै मोबाइल फोनमा केही पढ्ने गर्छिन्।

सुकेको मासु बिक्रीमा
कहिलेकाहीँ गाउँको निकै याद आउँछ। त्यहाँ कुनै राम्रो स्कुल भएको भए म मेरो आमाबुवा र साथीहरूलाई छोडेर आएको हुँदिन थिएँ।
तिशाको दिन
बालिकाको अनुभव
म कलेज जानका लागि तयार हुँदैछु। म ठीकै छु।
अनुसन्धानकर्ताको अनुभव
उनी आन्टीसँग बस्छिन् किनभने कलेज उनको घरबाट नजिकै छ। उनी अर्को आन्टीको खाजाघरमा काम गर्छिन्। खाजाघरको आन्टी त्यहीँ खाजाघरमै बस्छिन्।

गाउँघरतिर सबैका लागि उच्च शिक्षा उपलब्ध छैन।

बालिकाको अनुभव
मलाई कलेजमा हुँदा राम्रो लाग्छ किनभने म यहाँ साथीहरूसँग हुन्छु र आफ्नो समय आनन्दसँग बिताउँछु। म यहाँ धेरै कुरा सिक्न पाउँछु। जे भए पनि, मैले गाउँ र आमाबुवा छोडेर यहाँ पढ्न आएकी छु।
अनुसन्धानकर्ताको अनुभव
तिशा कलेजका लागि बिहान ५:५० बजे निस्किन्छिन्। उनको कक्षा ६ बजेबाट सुरु हुन्छ। कलेजमा हुँदा उनी साथीहरूको साथमा रमाउँछिन्। कलेज उनी बस्ने ठाउँ नजिकै छ। साथीहरूसँगै बसेर पढ्न उनलाई रमाइलो लाग्छ।

खाजा घर सडक दृश्य
बालिकाको अनुभव
घर फर्कदा बाटामा साथीहरूसँगै हुन्छु। उनीहरूसँग हुँदा राम्रो लाग्छ। मलाई खुसी लाग्छ।
अनुसन्धानकर्ताको अनुभव
घर फर्कँदा तिशा मानिस र गाडीहरूको धेरै चहलपहल हुने ठाउँ हुँदै फर्किन्छिन्। उनी छिटोछिटो हिँड्छिन् र यसरी हिँड्न आफू बानी परिसकेको बताउँछिन्।

बालिकाको अनुभव
यी गल्लीहरूमा हिँड्दा मलाई त्यस्तो अप्ठ्यारो महशुस हुँदैन किनभने यहाँका मानिसहरूसँग म परिचित छु। हिँडेर खाजाघर पुग्न मलाई ३० मिनेटजति लाग्छ। यो बाटो हरेक दिन हिँड्छु र मलाई सहज लाग्छ।

खाजाघरमा बालिकाले चिया बनाउँदै
बालिकाको अनुभव
अहिले कुनै ग्राहक छैनन् र मसँग केही फुर्सदको समय छ, त्यसैले मैले फोन प्रयोग गरेर पढ्दैछु। अलिकति फुर्सद हुने बित्तिकै म पढ्न मन पराउँछु। त्यसपछि म एक जना नियमित ग्राहकका लागि चिया बनाउँछु। म ठीकै महसुस गर्छु। त्यसपछि म टेबल पुछ्न र भाँडाहरू धुन व्यस्त हुन्छु। मलाई खाना बनाउन सबै आउँछ। म एक्लैले सबै कुरा गर्न सक्छु, तर धेरै ग्राहक भएका बेला र नगद काउन्टरदेखि पकाउने र दिने सबै कुरा एक्लैले सम्हाल्नु पर्दा मलाई कता भ्याउने नभ्याउने हुन्छ। नयाँ र अपरिचित ग्राहकहरू आए भने म असुरक्षित महसुस गर्छु किनभने तिनीहरूले मलाई धेरै प्रश्नहरू सोध्छन्, जुन मलाई जिस्क्याएको जस्तो महशुस हुन्छ।
अनुसन्धानकर्ताको अनुभव
तिशा खाजाघर सम्हाल्छिन्। तिनी निरन्तर काम गरिरहन्छिन्। यी सबै कामहरू गर्दा उनी सहज नै महसुस गर्छिन् तर एक्लै हुँदा र आन्टी त्यहाँ नहुँदा धेरै कुरा एकै पटक गर्नुपर्दा तनाव महसुस गर्छिन्। आफूले चिनेजानेका नियमित ग्राहकहरूलाई दिन तिशालाई कुनै समस्या छैन तर नयाँ ग्राहकहरूलाई दिँदा निकै अप्ठ्यारो लाग्छ। कतिपय खाएको पैसा नै नतिरी भाग्छन् र कतिपय मातेर झगडा गर्न थाल्छन्।

बालिकाको अनुभव
म घर जाँदैछु। रात छिप्पिएकोले डर लाग्दैछ र कहिलेकाहीँ बाटामा जिस्काउने मान्छेहरू हुन्छन्। रातको यो समयमा मातेका मानिसहरू हिँडिरहेका हुन्छन्। म हिँडिरहेको गल्ली अँध्यारो छ र मलाई डर लाग्छ। म धेरै छिटो हिँड्छु।
अनुसन्धानकर्ताको अनुभव
खाजाघरबाट तिशाको कोठासम्म पुग्न आधा घण्टा जति लाग्छ। उनी अँध्यारो गल्ली हुँदै एक्लै हिँड्छिन्। बाटोमा केही मातेका मान्छे भेटिन्छन् जसले उनलाई जिस्काउँछन्।
बालिकाको अनुभव
आज मेरो व्यस्त दिन थियो। म थाकेको छु, तर म अहिले मेरो ओछ्यानमा छु। म मेरो फोनमा मेरो कक्षासँग सम्बन्धित केहि खोज्छु। मेरो फोनले मेरो लागि जीवन सजिलो बनाएको छ। अब म सुत्छु।