

सुष्मा, १७ वर्षकी बालिका, नेपाल

सुष्माको जीवनको बारेमा
सुष्मा काठमाडौँमा दिदी भिनाजुसँग दुई कोठाको फ्ल्याटमा बस्छिन्। सुष्मा पूर्वी नेपालबाट तीन वर्षअघि काडमाडौँ आएकी हुन्। सुरुमा काठमाडौँ आउँदा उनी एक्लै थिइन्। पहिले उनले कारखानामा काम गरिन् तर कोभिड १९ को लकडाउनमा उनको कारखाना बन्द भयो र सुष्मालाई कोठाभाडा तिर्न कठिन भयो। सुष्माले त्यसपछि मसाज र स्पा सेवा दिने ठाउँमा काम गर्न थालिन्।
एक जना छिमेकीले सुष्मालाई स्पामा काम गर्ने बारे बताइन् र तलब राम्रो हुन्छ भनिन् तर सुष्मा यो क्षेत्रमा काम गर्न नै मन पराउँदिनन् र अन्तमा एउटा ब्युटीपार्लर खोल्न चाहन्छिन्। अहिलेलाई आफूसँग यहाँ रहेर काम गर्नुको विकल्प नरहेको उनलाई लाग्छ।
सुष्माले फ्ल्याटको आधा भाडा तिर्छिन्। कमाएको पैसाले कपडा र खानाजस्ता आफ्नो व्यक्तिगत खर्च पनि टार्छिन्। साथै उनले भाइ (१६ वर्ष) र बहिनी (१४ वर्ष) को पढाइ खर्च पनि बेहोर्छिन्। सुष्माको बुवा र सौतनीआमाले उनको भाइ र बहिनीको रेखदेख गर्दैनन्। सुष्मालाई आफूले यस प्रकारको काम अरु केही वर्ष गर्नुपर्नेछ भन्ने लाग्छ।

मसाज तथा स्पा स्थलबाट बाहिर मानिसहरू चुरोट पिउँदै

“कहिलेकाहीँ मलाई ग्राहकसँग निकै रिस उठ्छ किनभने तिनीहरूले त्यस्तो काम गर्न जिद्दी गरिरहन्छन् जुन मलाई मन पर्दैन। तिनीहरू रक्सी पिएर आउँछन् जुन मलाई जंगलीजस्तो लाग्छ।”

फुटेको सडक बत्ती
सुष्मा नयाँ ग्राहकभन्दा फेरि आउने ग्राहकलाई कदर गर्छिन्। उनले गर्ने कामको क्षेत्रमा ग्राहकहरूसँग राम्रो व्यक्तिगत सम्बन्ध बनाउनु महत्वपूर्ण छ। कुनै मन नपर्ने ग्राहकले उनीसँग नराम्रो व्यवहार गर्न खोज्दा त्योबेला निकै गाह्रो हुन्छ।
सुष्माले महिनाको ३० देखि ३५ हजार रुपैयाँसम्म कमाउँछिन्। उनीसँग कामको करार वा निश्चित तलब छैन। उनको कमाइ ग्राहकलाई उनले गर्न सेवामा आधारित छ। उनले प्रत्येक ग्राहकले दिएको ३० प्रतिशत शुल्क आफूसँग राख्छिन्।
सुष्माले जनवरी २०२३ मा आफ्नो जीवनको एउटा सामान्य दिनको अभिलेख गरिन्। यो दिन उनी बिहान साढे १० देखि रातिको साढे ८ सम्म १० घण्टाभन्दा बढी समय काममा थिइन् ।

मसाज तथा स्पाको नजिक रहेको क्षेत्र
मैले मेरा भाइ र बहिनीको शिक्षाका लागि खर्च दिइरहेको छु त्यसैले मैले काम गर्नु नै पर्छ।

सुष्मा आफ्नो कार्यस्थलमा
सहकर्मीहरूसँग सुष्माको सम्बन्ध राम्रो छैन। तिनीहरूले एकअर्कालाई मद्दत गर्दैनन् र उनलाई पैसाको खाँचो पर्दा सापट दिँदैनन्। सुष्माले आफूले सक्दासम्म अरुलाई मद्दत गर्न मन पराउँछिन् । उनले सहकर्मीलाई पैसा दिन्छिन् तर उनीहरू समयमा पैसा फर्काउँदैनन्।
सुष्मालाई आफ्नो काम कठिन लाग्छ तैपनि उनी निकै मेहनत गर्छिन्। बिरामी हुँदा बाहेक कामबाट छुट्टी नपाउने अवस्थाले उनलाई बेलाबेलामा निराश बनाउँछ।
सुष्मा सामान्य बिरामी हुँदा मालिकले जसरी भए पनि काममा आउनु भन्छन् । घरमा त्यसै बस्नुभन्दा काममा हुँदा सञ्चो हुन्छ भनी उनलाई बताउँछन्। सुष्माले गल्ती गर्दा मालिकले प्रायः उनलाई केरकार गरिरहेका हुन्छन्।

मालिश र स्पा स्थल भित्र
“म यो क्षेत्रमा काम गर्न चाहन्न तर मसँग अरु विकल्प नै छैन। म यो काम छोड्न चाहन्छु।”
सुष्माको दिन

किराना पसलहरू
बालिकाको अनुभव
म बिहान ७ बजे उठ्छु । म बिहान ७ बजे उठ्छु। हामी बस्ने घरमा खानेपानीको सुविधा नभएकोले म पानी लिन जानुपर्छ। त्यसपछि म किराना सामान र तरकारी किनमेलको लागि जान्छु। बिहानको खाना म पकाउँछु र बेलुकाको खाना मेरो दिदीले पकाउनुहुन्छ। आज हाम्रो घरमा पाहुना छन् त्यसैले मैले उहाँका लागि पनि पकाउनुपर्छ। त्यसपछि म भाँडा सफा गर्छु र काममा निस्कन्छु। बिहान घरमा म चियामात्र पिउँछु किनभने मलाई ढिलो खाना खान मन लाग्छ। त्यसैले म खाना बोकेर काममा जान्छु।
अनुसन्धानकर्ताको अनुभव
सुष्मा बिहान निकै व्यस्त हुन्छिन् किनभने बिहान पकाउने, तरकारीहरू किनमेल गर्ने र भाँडा धुने काम हुन्छ। उनले खाना प्याक गरेर काममा लैजान्छिन्।

सुष्माको घर फर्कने बाटो

बालिकाको अनुभव
काम गर्ने ठाउँमा पुग्न मलाई करिब पाँच मिनेट लाग्छ। छिटो हिँडेमा त्योभन्दा पनि कम लाग्छ। म प्रायजसो एउटै बाटो भएर जान्छु। म १० बजेतिर काममा निस्कन्छु। बाहिर घाम लागेको छ र सडक त्यति धेरै भीडभाड छैन। म हिँड्ने पछाडिको गल्ली साँघुरो भएकोले धेरै गाडी आवतजावत गर्दैनन्। दिउँसो बाटो सुरक्षित जस्तै हुन्छ। मलाई ठीक लाग्छ।
घरमा गर्नुपर्ने धेरै काम भए पनि म काममा जानै पर्छ। जाडोका दिनहरूमा मलाई साँच्चै जान मन लाग्दैन तर मसँग अर्को विकल्प छैन। कामबाट निकालिने वा गाली खाने जोखिम उठाउन म चाहन्न। मैले कतिबेला काम गर्ने कतिबेला नगर्ने भन्ने निर्णय गर्न नसक्नु मेरा लागि निकै असहज कुरा हो।
अनुसन्धानकर्ताको अनुभव
सुष्मा १० बजे घरबाट निस्कन्छिन्। घरबाट कामसम्म हिँडेर पाँच मिनेटमा पुग्न सकिन्छ। उनी पछाडिको साँघुरो गल्ली भएर जान्छिन्। यो गल्ली तीन मिटर जति चौडा छ। यो बाटोमा कार वा अन्य गाडी नहिँडे पनि मोटरसाइकल चै हिँडिराख्छन्।
गल्लीको दुवैतिर विभिन्न व्यवसायहरू छन् जस्तैः किराना पसल, बार, रेष्टुरेन्ट, होटेल र खाजाघर आदि। यो गल्लीबाट विभिन्न प्रकारका पैदलयात्रीहरू जस्तै पर्यटक र स्थानीय दुवै हिँड्ने भएकाले यहाँ चहलपहल देखिन्छ।

सुष्माको सुन्निएका र दुखिरहेका हातहरू
बालिकाको अनुभव
म बिहान १० बजेर १० मिनेटमा काममा पुग्छु र राति साढे ८ बजेसम्म रहन्छु। आज व्यस्त दिन छ। धेरै ग्राहकहरू आएका छन् र मालिक गाउँ गएकाले मैले आफैँ यो ठाउँ सम्हालिरहेकी छु।
मसाज गर्दा निकै थाकिन्छ। मेरो हात पनि दुख्छ। एकपटक मेरो हात भाँचिएको थियो र अझै पनि यसले दुःख दिन्छ। त्यसैले, एकपछि अर्को मसाज गर्दा मैले बीचबीचमा आराम गर्नुपर्छ।
आज धेरै ग्राहकहरू आएका भएपनि म बीचबीचमा आराम गर्दछु। त्यसैले मलाई ठीक छ र दिनभरि सहज भएको छ। एउटापछि अर्को ग्राहकलाई गर्ने समयको बीचमा म साथीहरूसँग टिकटक भिडियो बनाउँछु। म नाच्छु र गीत गाउँछु। त्यसैले मलाई ठीक छ।
म बिहान अबेरतिर घरबाट ल्याएको खाना खान्छु र म खाजा पनि खान्छु। व्यवसायका मालिकले खाजा नदिने भएकाले खाजाको पैसा मैले नै तिर्नुपर्छ। यातायात खर्च पनि आफैले बेहोर्नुपर्छ तर खुसीको कुरा म नजिकै बस्छु र यो खर्चबारे चिन्ता गर्नुपर्दैन।
मैले आज निकै राम्रा ग्राहकहरू पाएँ, कुनै पनि अभद्र व्यक्ति आएनन् त्यसैले मैले आफूले सेवा दिँदा वा अरू कमचारीले सेवा दिँदा चिच्याउनु परेन। हाम्रो मसाज तथा स्पाभन्दा तल पहिलो तलामा एउटा होटेल छ। त्यहाँको धुवाँ र ग्राहकहरूले एकअर्काप्रति गर्ने छाडा गालीले समस्या उत्पन्न गर्छन् र कहिलेकाहीँ तिनीहरू रक्सी खाएर माथि आउँछन् र झगडा गर्छन्।
अनुसन्धानकर्ताको अनुभव
सुष्माको मालिक उनको गाउँ गएकी छिन् र सुष्माले नै मसाज तथा स्पा हेरिरहेकी छिन्।
हामी आइपुग्दा धुवाँको कडा गन्ध हाम्रो नाकमा आइपुग्यो जुन तलको होटेलबाट आइरहेको थियो। हामीले पुरुषहरू बोलिरहेको र छाडा गाली गरेको पनि सुन्छौँ। सुष्मालाई उनको काम गर्ने ठाउँको यो पक्ष मन पर्दैन।

राती पैदल घर फर्कँदै

बालिकाको अनुभव
आज घरतर्फको यात्रा राम्रो छ। दूरी छोटो भएकोले म केही सुरक्षित महसुस गर्दछु। मसँग प्रायजसो एउटा साथी पनि हुन्छ जसले गर्दा पनि डर निकै कम हुन्छ। तरपनि केही परिस्थितिहरूले मलाई अझै पनि चिन्चित बनाउँछन्। जस्तै राति त्यो गल्लीमा तेज गतिमा कुद्ने मोटरसाइकलले निकै तर्साउन सक्छ र साँघुरो बाटो भएकोले दुर्घटनाको जोखिम बढी हुन्छ।
छाडा शब्दहरू बोल्ने मानिसहरू, गल्लीका कुकुरहरूदेखि पनि डर लाग्छ र त्यो बाटोमा २०० मिटरजति सडक बत्ती पनि बिग्रिएको छ। यो मेरा लागि तनावयुक्त हुन्छ। त्यो बाटोमा भएका खाजाघरहरूमा झगडा हुँदा म पटक्कै सुरक्षित महसुस गर्दिनँ।
अनुसन्धानकर्ताको अनुभव
बेलुका घर फर्कदा सुष्मा बिहान हिँडेकै बाटो भएर फर्किन्छिन्। तर रातीको परिस्थितिहरू अलिक फरक हुन्छन्। गल्लीको केही खण्डमा बत्तीको उल्यालो छैन। यो चिन्ताजनक कुरा हो किनभने राति यो गल्लीमा त्यति चहलपहल हुँदैन। यो गल्लीको दायाँबायाँका धेरैजसो पसलहरू बन्द भइसकेका छन्।
बालिकाको अनुभव
बिहान तरकारी र किराना सामान ल्याउने, खाना पकाउने र भाँडा धुने जिम्मा मेरो हो तर बेलुका मेरी दिदीले पकाउनु हुन्छ र मैले केहीबेर आराम गर्न पाउँछु।