बत्स, १६ वर्षका बालक
Batsa को जीवन को बारे मा
बत्स आफ्नी आमा र दुईजना दाजुदिदीसँग बस्छन्। उनकी आमा घरेलु कामदार हुन्। घरको आर्थिक अवस्थामा सहयोग गर्न बत्स १२ वर्ष भएदेखि स्कुलको पढाइ छाडेर काम गर्न थालेका हुन्। जेठो दाजुले बिहे गरेर परिवार छोडेपछि उनले काम गर्न थालेका हुन् । बत्सले सन् २०२२ जुलाई २९ मा घरदेखि विद्यालय र विद्यालयदेखि काममा जाँदाका आफ्नो दैनिकी अनुभव रेकर्ड गरेका हुन्। अर्को दिन आफ्नो काकाको छोरा वा साथीहरूसँग बाहिर घुम्न जाने सम्भावना भएपनि बत्सले उक्त दिनलाई सामान्य दिन भनेका छन्। प्रायःजसो उनी कि त काम गरिरहेका हुन्छन् कि त सुतिरहेका हुन्छन् । उनले प्रायः साथीहरूसँग समय बिताउन पाएका हुँदैनन्। उनी अक्सर निराश र थकित महसुस गर्दछन्। बत्सले महिनाको २५ हजार रुपैयाँ कमाउँछन् र त्यसमा गर्व गर्छन्। दोहोरी मालिकले गरेको भरोसा र सम्मानमा पनि उनी गर्व गर्छन्। परिवारका लागि जिम्मेवारी वहन गरेको र केही सुरक्षा पाएको पनि उनलाई महसुस हुन्छ। बत्सले आफ्नो कमाइको केही भाग ट्युसन शुल्कमा खर्च गर्छन् भने केही पैसा आमालाई दिन्छन्। केही पैसा आफ्नै खर्चका लागि राख्छन्।
बत्सको साइकल
निकै थकित हुँदा सुत्न पनि गाह्रो हुन्छ। मेरो दिमागमा धेरै कुरा खेल्छ। मेरो भविष्य कस्तो होला मलाई थाहा छैन।
बत्स उत्सुक हुँदै आफूलाई काम रमाइलो लाग्ने बताउँछन् र आफूले रोजेर नै यो काम गरिरहेको बताउँछन्। यद्यपी उनको दैनिक अनुभवले झन् जटिल तस्विर देखाउँछ।
बत्सले तरकारी काट्ने र भाँडाहरू धुने काम गर्छन्। उनी दोहोरीकै बाथरुम र होटेल रुम पनि सफा गर्छन्। कहिलेकाहीँ उनी कोठा र नजिकका होटेलहरूमा खाना र रक्सी पनि पुर्याउँछन्।
बत्स र्यापर बन्न चाहन्छन् र शनिबारको दिनमा विद्यालय जानु नपर्ने हुनाले उनी र्याप गीत सिर्जना गर्छन्। उनी महत्वाकांक्षी छन् र परिवारबाट त्यति सहयोग नपाएको महशुस गर्छन्। त्यसैले उनीसँग काम गर्नुको विकल्प छैन। उनी धेरै एक्लो छन् र कामबारे आफ्नो भावनाहरू अरुसँग हतपत साटासाट गर्दैनन्।
29 जुलाई 2022 मा बत्साले आफ्नो घरदेखि स्कूल काम गर्न जाने अनुभवहरू रेकर्ड गरे। बत्साले दिनलाई “सामान्य” भनेर वर्णन गर्दछ, बाहेक अर्को दिन उहाँ आफ्नो काका वा साथीहरूसँग पनि बाहिर जान सक्नुहुन्छ। प्राय जसो ऊ या त काम गरिरहेको छ वा सुतिरहेको छ – उसले प्राय: साथीहरूसँग समय बिताउन छोड्छ। उहाँ प्रायः दुखी र थकित महसुस गर्नुहुन्छ।
दोहोरीमा खानाको परिकार तयार गर्दै
बत्स दाजुसँगै सुत्छन्
“काम नगरेको बेला म सुत्छु।”
बात्सा आफ्नो कार्यस्थलमा
भान्छामा भान्सेले भर्खरका महिला सहकर्मीलाई चुम्बन र छामछुम गरेको बत्सलाई मन पर्दैन। उनले काम गर्ने ठाउँमा पुरुष सहकर्मी र ग्राहकहरूले भर्खरका महिला सहकर्मीमाथि यस प्रकारले दबाउने कुरा सामान्य हुन्छ। त्यसै गरी काममा भान्सेले महिला कर्मचारीलाई हैरान गर्ने र पुरुष कर्मचारीले अश्लील भिडियो हेर्ने सामान्य बनेको छ। बत्सले आफू काम गर्ने ठाउँको यौनजन्य प्रकृति प्रत्यक्ष अनुभव पनि गर्ने गर्छन् । खासगरी जब उनी महिला ग्राहक बसेको ठाउँमा अर्डर पुर्याउन जान्छन् र महिलाले उनलाई प्रस्ताव राख्छन्। बत्सलाई गाह्रो नहोस् भनेर ती महिलाले दोहोरीको मालिकसँग यसबारे कुरा गर्नेछु भनेर पनि उनलाई भन्छिन्। बत्सले १८ वर्षभन्दा मुनिका बालबालिकाले काम गरेको भेटेमा प्रहरीले त्यहाँबाट लैजान्छ भन्ने सुनेका छन्। त्यसैले उनी प्रहरी आएर समाउने हो कि भनेर चिन्ता गर्छन्।
सहकर्मीहरूले एउटा महिला वेटरलाई कर्के आखाँले हेर्दै
भर्खरका महिला कर्मचारीलाई पुरुष कर्मचारीले थिचोमिचो गर्दा मलाई निकै असहज लाग्छ। महिला वेटरहरू धेरैजसो यस प्रकारको दुर्व्यवहारको शिकार हुन्छन्।
बात्साको दिन
बालकको अनुभव
म थकित महशुस गरिरहेको छु। राति २ बजे घर आइपुगेको थिएँ। विद्यालय जान मन छैन तर पनि जानुपर्छ। लखतरान छु। अन्ततः हातमुख धोएर लुगा लगाएर विद्यालय जान तयार हुन्छु। म दिनभर विद्यालय मा नै हुन्छु। मैले मेरो पढाइमा केन्द्रीत हुनुछ।
बालकको अनुभव
म विद्यालयबाट भर्खर आइपुगेको छु। बाटामा पानीले भिजेँ र मेरा सबै लुगा चिसो छन्। काममा जानका लागि तयार हुँदैछु र त्यहाँ साढे चारबजेसम्म पुगिसक्नुपर्ने भएकोले म अलिक हतारमा छु। आज खानको लागि घरमा खाजा छैन, त्यसैले भोकै काममा जाँदैछु।
बत्सको साइकल
बालकको अनुभव
काममा जान म साइकल प्रयोग गर्छु। साइकल सुरक्षित राख्न मसँग ताल्चा छ।
अनुन्धानकर्ताको अनुभव
बत्स साइकल चढेर काममा जाँदैछन्। उनी हतारमा छन्। उनले मालिकसँग कुरा नगर्नु है भनेर हामीलाई भनेका छन्। अनि उनले कुनै महिलाहरू आएर यौनसम्पर्क राख्न दिने भन्दै पैसा पनि माग्न सक्छन् भनेर हामीलाई सचेत गराएका छन्।
दोहोरीमा खाना पकाउँदै
बालकको अनुभव
काममा सबभन्दा पहिले पुगेर काम गर्न थाल्ने सधैँ म नै हुन्छु। आज मलाई अल्छी लागिरहेको छ। म टेबल र हुक्का पाइप सफा गर्छु अनि भाँडाहरू धुन्छु। कुनै कुनै भाँडाहरू निकै भारी हुन्छन् जसले गर्दा मेरो कम्मर दुख्छ। म धनियाँ, अदुवा, लसुन, तरकारी र फलफूल काट्छु। त्यसपछि म बाहिर बढार्छु र पोछा लगाउँछु। डेढ घण्टा भइसकेको छ र कुनै पनि ग्राहक आएका छैनन्। काम नभएको बेला गृहकार्य गर्न पाए पनि हुन्थ्यो भन्ने लाग्छ तर त्यसो गर्न पाइँदैन। त्यसैले केही नगरी मोबाइल चलाउँदै बस्छु। म मेरो भविष्यबारे सोचिरहन्छु। मेरा सपनाहरू कसरी पूरा गर्ने भन्ने थाहा छैन। मलाई काम गरिरहन मन छैन तर अन्य कुनै विकल्प र घरपरिवारमा मलाई सहयोग गर्ने कोही पनि छैन। आजकल दोहोरीमा त्यति धेरै ग्राहक पनि आउँदैनन् र मैले तलब पनि पाएको छैन। यसले गर्दा अलिक तनाव भएको छ। मेरो आँखा राता छन् र दुखिरहेका छन्। मलाई निराश लागिरहेको छ र कसैसँग बोल्न मन छैन। अहिले नै सुत्न पाए पनि हुन्थ्यो भन्ने लागेको छ। केही मनपर्ने गीतहरू सुन्दा केही राम्रो महशुस भएजस्तो हुन्छ। यहाँ काम गर्दा कुनै दुःख छैन। मलाई गीत सुन्न र लाइभ प्रस्तुति हेर्न मन पर्छ। दोहोरीमा नै म खाना खान्छु। खाना खाइरहँदा निकै आनन्द लाग्छ। जतिबेर मन लाग्छ त्यतिबेर कफी र चिया खान सक्छु । कर्मचारीहरूलाई खाना दिनु हाम्रो जिम्मेवारी हो । भान्से र म मिलेर रातिको खाना बनाउँछौँ। म भात पकाउँछु। दोहोरीको मालिकलाई मैले खाना दिनुपर्दा अलिक डर लाग्छ।
अनुसन्धानकर्ताको अनुभव
दोहोरीमा रहेका धेरैजसो मानिसहरू वयष्क छन्। केही नाबालिग जस्ता देखिने केटीहरू पनि छन् र यो ग्राहक तान्नका लागि हो जस्तो हामीलाई लाग्छ। महिला र पुरुष दुवै वेटरहरू साथै गायक/गायिकालाई धनी ग्राहकहरूले लैजाने गरेको बत्स बताउँछन्। यसले गर्दा कहिलेकाहीँ कर्मचारीका पति वा पत्नि ग्राहकहरूसँग झगडा पनि हुने गरेको उनी बताउँछन्।
बत्स सुत्ने ओछ्यान
बालकको अनुभव
म बिस्तारै साइकल डोर्याउँदै हिड्दै घर आउँछु। मलाई पैदल हिँड्न मन पर्छ। रातिको समय एक्लै सडकमा अनि कुकुरहरू भुकिरहेको सुन्दा मलाई भित्रभित्रै डर लाग्ने गरे पनि एक्लै हिँड्न रमाइलो लाग्छ। घर पुगेपछि सुत्ने तरखर गर्छु तर ३ बजेसम्म पनि जागै छु, मलाई निद्रा लागेको छैन। सुत्न खोज्छु तर आज म निराश छु।
अनुसन्धानकर्ताको अनुभव
बत्सका लागि निद्रा र आराम महत्वपूर्ण छ। उनी आफ्नो दाजुसँगै भूइँमा सुत्छन्। उनका आमाबुवाले उनको दैनिकीमा कुनै चासो लिँदैनन्। आमासँग विरलै बोल्ने गरेको र परिवारबाट साथ सहयोग नपाएको उनी बताउँछन्।